कृषिउपज बजारस्थल धरानको तथ्याङ्कमा सुन्तलाको कारोबारको अवस्था हालसम्मकै उच्च रहेको पाइयो । इतिहासमै पहिलो पटक कारोबार हुनु एकदमै खुसीको कुरा हो । अझ सुन्तला कृषकका लागि झनै खुसीको कुरा हो । नेपालजस्तो कृषिप्रधान देश अर्थात् अहिले पनि ६५ प्रतिशतभन्दा बढी कृषिमै आश्रित भएको देशमा यस्तो आँकडा पाइनु सुन्दर पक्ष हो । सुन्तलाको मूल्य र कारोबार दुवै दृष्टिले यो वर्ष फलदायी रह्यो । त्योसँगै उत्पादन पनि विगत वर्षभन्दा १ हजार मेट्रिक टनले नै बढी भएको पाइएको छ । यसले पनि नगदे बालीमा किसानको आकर्षण दिन प्रतिदिन बढ्दै छ भन्ने देखाएको छ । विगतमा खाद्यान्न बालीमा लगानी भए पनि पछिल्लो समय नगदे बाली त्यसमा पनि फलफूल खेती बढ्दै गएको छ । उत्पादनलगायतको आँकडाले यस्तै बताउँछ । प्रदेश १ को धनकुटा, भोजपुर सुन्तलाका लागि प्रख्यात छ । यहाँको सुन्तलालाई ब्रान्डिङ गरिने हो भने आर्थिक उपार्जन थोरै भए पनि देशका लागि योगदान गर्न सक्ने थियो । अझ यहाँका सुन्तलालाई देशविदेशसम्म निर्यात गर्ने वातावरण तयार गरिने हो भने किसानलाई थप राहत हुन्थ्यो भने आयस्रोत पनि बढ्ने थियो ।
नेपालमा उत्पादित सुन्तलाको बजार सीमित भए पनि खपतका हिसाबले राम्रै मानिन्छ । किनकि भोजपुर र धनकुटामा उत्पादित सुन्तला प्रदेश १ को विभिन्न सहरमा खपत हुँदै आएको छ । यसलाई अन्तर्राष्ट्रिय स्तरमा बिक्री गर्ने वातावरण सिर्जना यहाँको प्रदेश सरकारले गर्नुपर्ने देखिन्छ । त्यसका लागि स्थानीय सरकारहरूले प्रदेश सरकारसँग समन्वय गरेर यहाँका उत्पादित सुन्तलालाई वर्गीकरण गरेर निर्यात गरिने हो भने देशको अर्थतन्त्रमा थोरै भए पनि टेवा पुग्ने थियो । आर्थिक स्रोत वृद्धिका लागि सरकारको भूमिका पनि देखिने थियो । तर, अहिलेसम्म त्यसो हुन सकेको छैन । यसमा हाम्रा स्थानीय सरकार पनि चुकेका छन् भने प्रदेश सरकार पनि चुक्दै आएकै छ । कृषिलाई प्राथमिकतामा नराख्ने हाम्रो परिपाटी पुरानै हो । हामी कृषिप्रधान देश भनेर थाक्दैनौँ तर, नीति हेर्ने हो भने किसानमैत्री छैन । वास्तविक किसानले अनुदान, राहत पाएको अवस्था छैन । राजनीतिक दलहरूका आसेपासेले यस्ता राहत तथा अनुदान पाउने अवस्था छ । अर्कोतिर कृषि जमिनहरू कि त बाझिँदै गएका छन् कि त खण्डीकृत हुँदै गइरहेका छन् । यसको प्रत्यक्ष मार तत्काललाई नहोला तर, कालान्तरमा यसले ठूलो समस्या निम्त्याउने निश्चित छ ।
पहिलो कुरा, सुन्तलालाई ब्रान्डिङ गर्ने वातावरण सिर्जना गरिनुपर्छ । दोस्रो, यहाँका उत्पादनलाई विदेश निर्यात गर्ने वातावरण तयार गरिनुपर्छ । तेस्रो, सुन्तला किसानलाई राहत तथा अनुदान दिएर क्षेत्रफल बढाउनेतिर ध्यान दिनुपर्छ । यी तीनवटा काम गरेमा तत्काल किसानलाई फाइदा देखिए पनि कालान्तरमा त्यसको लाभ राज्यले नै लिन सक्छ । राज्यले किसानमैत्री काम गर्ने वातावरण सिर्जना गरिनु आजको अपरिहार्यता हो । किनकि नेपालले दुईवटा क्षेत्रबाट आर्थिक उपार्जन गर्न सक्ने देखिन्छ । एउटा, पर्यटन र अर्को कृषि । पर्यटनका लागि अपार सम्भावना छ । त्यस्तै कृषिमा पनि अर्को अपार सम्भावना छ । यी सम्भावनाहरूलाई दिगो रूपमा अगाडि बढाउन स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले पहल थाल्नुपर्छ । संविधानमै पनि आर्थिक रूपमा तीनवटै सरकारले काम गर्नसक्ने भनी व्यवस्था गरेको छ । नेपाललाई आर्थिक रूपमा सबल बनाउन कृषिमा दीर्घकालीन नीतिको आवश्यकता छ । यसले मात्रै नेपाललाई एउटा उचाइमा पु¥याउँछ ।