विजयपुर । धरान–१६ स्थित हनुमान क्याफे हाउसमा खुकुरी प्रहार भएको घटनामा संलग्नताको आरोपमा छ जना पक्राउ परेका छन् ।

फागुन ५ गते क्याफेमा कफी पिइरहेका युवाहरूमाथि सामूहिक आक्रमण हुँदा ३ जना घाइते भएका थिए । उक्त घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–१३ का २२ वर्षीय मन्जित लिम्बू, धरान–१९ का २२ वर्र्षीय सन्दीप राई, धरान–१२ का २५ वर्षीय सुशील श्रेष्ठ पक्राउ परेका छन् । उनीहरूलाई सुनवर्षी नगरपालिका–२ अमरदह बजारबाट पक्राउ गरेको प्रहरी जनाएको छ । यस्तै  धरान–१५ का २५ वर्षीय युगल राई, २६ वर्षीय एन्जल लिम्बू, धरान–१५ कै १९ वर्षीय सेम्पु लिम्बू पनि पक्राउ परेको कार्यालयले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते हुनेमा धरान–१५ का २६  वर्षीय मौसम लिम्बू, धरान–१२ का २४ वर्षीय माइक राई र धरान–१९ का २६ वर्षीय एन्सन लिम्बू रहेका छन् ।

प्रहरीका अनुसार एन्सन लिम्बूको अवस्था गम्भीर रहेको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अन्य भने डिस्चार्ज भइसकेको प्रहरी जनाएको छ । प्रहरीले लागूऔषधका कारण घटना भएको बताएको छ ।