धरान । समावेशी शिक्षण सिकाइ आदान–प्रदान गर्न नर्वेस्थित नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (एनटिएनयु)को टोली धरान–१६ स्टेडियम लाइनस्थित जेनिथ इङ्लिस बोर्डिङ स्कुलमा आइपुगेको छ ।

जेनिथ स्कुल र एनटिएनयु बीच विगत सात वर्षदेखि शिक्षण सिकाइमा सहकार्य हुँदै आएको छ । कोभिड–१९ पछि भने पहिलो पटक युनभर्सिटीको टोली धरान आएको हो । टोलीमा रहेका सुश्री ओदा, क्रिष्टिना, फोरजेन्सेन, मारिया, सिल्जे, सेलिना र जिनेलाई बुधबार जेनिथका निर्देशक सुमन जवेगु, प्रिन्सिपल पूजा ताम्राकार लगायत शिक्षक र विद्यार्थीहरूले स्वागत गरेका छन् ।

दुई हप्तासम्म बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई समावेशी शिक्षा कार्यक्रम अन्तर्गत विविध कार्यक्रमहरू गरिने, आ–आफ्ना देशका पठन–पाठन विधि र शैली एक–अर्कामा आदान–प्रदान गर्नेलगायतका कार्यक्रम रहेको जेनिथका निर्देशक जवेगुले बताए । यो क्रममा आफ्ना देशहरूको शिष्टाचार आदान–प्रदान गर्ने, विविध खेलहरू खेलाएर विद्यार्थीहरूलाई मनोरञ्जन दिने, बालमैत्री र अपाङ्गमैत्री वातावरणमा कक्षा सञ्चालन हुने बताइएको छ ।

विद्यार्थीलाई भयरहित वातावरणमा संसारका हरेक नागरिकसँग प्रतिस्पर्धा गर्नसक्ने अब्बल नागरिक तयार गर्ने उद्देश्यले यो युनिभर्सिटीसँग सहकार्य गर्दै आएको प्रिन्सिपल ताम्राकारको भनाइ छ । धरानमै समावेशी शिक्षा लागू गर्ने जेनिथ पहिलो र एक मात्र विद्यालयमा पर्दछ ।