धरानमा केही सातायता आपराधिक घटना वृद्धि भइरहेका छन् । एकपछि अर्को चोरीका घटना भइरहेका छन् भने केहीदिन अघि धरान–१६ को एउटा रेष्टुरेन्टमा बसेर कफी पिइरहेका युवाहरूमाथि सामूहिक आक्रमणको घटना भएको छ । आक्रमणमा परी एक युवा गम्भीर घाइते भएका छन् । लागूऔषध कारोबार, झै–झगडा, चोरीका घटना बढिरहँदा प्रहरीले प्रभावकारी रूपमा काम गर्न सकेको देखिँंदैन । प्रहरीको प्रभाव कम हुँदा र अघिल्ला घटनाका दोषीहरू कारबाहीको दायरामा नआउँदा पनि आपराधिक घटना दोहोरिने सम्भावना रहन्छ । आपराधिक घटना बढिरहँदा प्रहरीले आम नागरिकलाई सुरक्षाको अनुभूति गराउन सक्नुपर्छ । प्रहरीको प्राथमिकता घटना भएपछि पक्राउ गरेर कारबाही चलाउनेमा मात्र होइन, सकेसम्म घटना हुनै नदिने वातावरण बनाउनुमा हुनुपर्छ । प्रहरीले यसतर्फ भने ध्यान दिन नसकेको पछिल्ला घटनाक्रमहरूले देखाउँछन् ।
धरानलाई विगतदेखि नै लागूऔषध र विभिन्न कारण झै–झगडा बढी हुने ठाउँका रूपमा चिन्ने गरिन्छ । त्यसले धरानको छवि धमिल्याएको छ । धरानको खराब छविकै कारण यहाँ औद्योगिक र व्यापारिक क्षेत्रको विकासमा असर परेको छ । यद्यपि पछिल्लो समय स्थानीय समाजमा आएको सचेतना र प्रहरी प्रशासनको सहकार्यका कारण धरानमा शान्ति सुरक्षामा सुधार हुँदै आएको थियो । कुनै समय दिनदहाडै खुकुरी बोकेर सडकमा ‘ग्याङ फाइट’ को तमासा देखाउनेहरू निरुत्साहित थिए । उनीहरूमा समाजका साथै प्रहरी प्रशासनको डर पनि थियो । पछिल्लो समय प्रहरी प्रशासनले समाजसँग मिलेर लागूऔषध र अपराध न्यूनीकरणका लागि खासै काम गरेको छैन । कानूनमा लेखिएका अक्षरले मात्र समाजको अपराध न्यूनीकरण हुँदैन, त्यसका लागि समाजमा सचेतना जगाउनु जरुरी हुन्छ । प्रहरीको काम अपराध गर्नेलाई पक्राउ गर्ने र कानूनी प्रक्रियामा पठाउने मात्र होइन र हुनुहुँदैन । समाजसँग हातेमालो गरेर अपराध न्यूनीकरण गर्नु पनि उसको दायित्व हो । किनभने प्रहरी एक्लैले समाजलाई सुरक्षित बनाउन सक्दैन ।
नागरिकलाई सुरक्षित बनाउनका लागि धरानमा इलाका प्रहरी कार्यालय र त्यस मातहतका वडा कार्यालय तथा विभिन्न एकाइहरू छन् । धरानको सुरक्षाको मुख्य जिम्मेवारी इलाका प्रहरीको हो । त्यसअर्थमा आफू मातहतका प्रहरी कर्मचारी चुस्तरूपमा परिचालन गर्न नसक्नु वा धरानवासीलाई सुरक्षाको प्रत्याभूति गराउन नसक्नु इलाका प्रहरी प्रमुखको कमजोरी हो । किनकि सुरक्षा निकायमा ‘चेनअफ कमान्ड’ को ठूलो महŒव हुन्छ । प्रमुखले समाजसँग कसरी समन्वय गर्छन् र मातहतका कर्मचारीलाई कसरी निर्देशन दिन्छन् भन्ने कुराले शान्ति सुरक्षाको अवस्था कस्तो हुन्छ भन्ने निर्धारण गर्छ । त्यसकारण प्रहरीका जिम्मेवार व्यक्तिहरूले आफ्नो पदलाई जागिरका रूपमा मात्र होइन, जिम्मेवारी र दायित्वका रूपमा पनि लिनु आवश्यक छ । साथै यहाँको नागरिक समाज, विभिन्न समुदायसँग हातेमालो गरेर अघि बढ्नु आवश्यक छ । धरानमा पहिला जसरी नै ‘ग्याङ्फाइट’ का घटना हुन थाल्नु, चोरी, लागूऔषधजस्ता अपराध बढ्नु चिन्ताको विषय हो । त्यसैले प्रहरीको मात्र आशा नगरी यहाँको नागरिक समाज र विभिन्न सङ्घ–संस्थाले पनि धरानको सुरक्षाप्रति चासो लिनु आवश्यक छ । धरानवासीले प्रहरीलाई समेत शान्ति सुरक्षाका विषयमा झक्झक्याउनु पर्ने आवश्यकता छ । धरान सुरक्षित भए मात्र यहाँको व्यापार–व्यवसाय विकास हुन्छ र समाजको विकास हुन्छ । त्यसतर्फ सबै सचेत र संवेदनशील हुनु जरुरी छ ।