धरान । बीबीसी मास्टर सेफ युके रिम्याच–२०२१ का विजेता मास्टर सेफ सन्तोष साहसँग धरानको युएन नवोदय कलेजका विद्यार्थीले अन्तरक्रिया गरेका छन् ।
शनिबार सेफ नेपालको टिमसहित कलेज पुगेका साहले विद्यार्थीहरूलाई बीबीसी मास्टर सेफमा प्रतिस्पर्धा गर्दाका अनुभवहरू सुनाएका थिए । उनीसँग विद्यार्थीहरूले विभिन्न जिज्ञासा राखेका थिए ।
‘फुड रियालिटी शो’ का लागि स्थानीय मौलिक खानाका परिकारहरूको खोजी गर्न टिमसहित आएका साहलाई कलेजका होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठलगायतले स्वागत गरेका थिए ।
कलेजका विद्यार्थीहरूले तयार गरेको किराती मौलिक खाना चाखेपछि साहले खाना मीठो भएको र यसलाई अझै विकास गर्दै लैजानु पर्ने आवश्यकता रहेको बताए । मास्टर सेफ साहका अनुभव र सफलता सुन्न पाउँदा बि.एच.एम.का विद्यार्थीहरू अझ बढी उत्प्रेरित र लाभान्वित भएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले बताए ।