विराटनगर । विराटनगरस्थित विराटनगर सिटी अस्पतालमा एक जना महिलाको उपचारको क्रममा मृत्यु भएपछि अस्पताल दिनभरि तनावग्रस्त बनेको छ ।

मोरङको जहदा गाउँपालिका–४ की ३९ वर्षीया सन्जु मेहेताको शल्यक्रियाको क्रममा मृत्यु भएपछि अस्पताल सोमबार दिनभरि तनावग्रस्त बनेको हो । मिर्गौलामा पथरी रहेकाले शल्यक्रियाको लागि उनी आइतबार अस्पताल आएकी थिइन् । शल्यक्रियाको क्रममा उनको आइतबार मृत्यु भएको थियो ।

शल्यक्रिया गर्दा चिकित्सकले गम्भीर लापरबाही गरेको भन्दै बिरामीका आफन्तहरूले अस्पताल र चिकित्सकलाई कारबाहीको माग राख्दै नाराबाजी गरे । ‘मृतक मेहेता बिहान १० बजे सिटी अस्पतालमा चेकजाँचका लागि आउनुभएको थियो । मिर्गौलामा पथरी रहेकाले त्यसैको उपचारका लागि सिटी अस्पताल आउनुभएको थियो । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिनुभयो । त्यही अनुसार गर्न हामीले सझुाव दियौँ’ मृतकका नातेदार देवर पर्ने विभाष सिंहले भने, ‘चिकित्सकको लापरबाहीले भाउजूको मृत्यु भएको छ ।’ लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।

‘डाक्टरले अप्रेशन गर्नू भन्नुभएको रहेछ, बिरामीसँग पैसा थिएन, डाक्टरले केही दिनपछाडि पैसा दिँदा हुन्छ भनेर अप्रेशन गर्न स्वीकार गर्नुभएको रहेछ’–उनले भने । केही दिनपछि शल्यक्रिया गरेको पैसा दिँदा हुने अस्पतालका सर्जन डा. सुनिल यादवको भनाइअनुसार मृतक मेहेताले अप्रेशन गर्न स्वीकार गरेको बताउँदै उनका आफन्तले राति ८ बजे शल्यक्रिय विभागमा लगेको र दुई घण्टापछि मात्रै मृतक मेहेताको मुटुको धड्कन नभएको चिकित्सकले जानकारी दिएको बताए ।

‘बेहोस हुने सुई लगाउने बित्तिकै भाउजूको मृत्यु भइसकेको थियो होला तर, १२ बजे राति बिरामीको कुरुवालाई बचाउने कोशिस गर्दैछौँ भनेर डाक्टरले भन्यो’–उनले भने । तर, चिकित्सकले आश्वासन दिएको आधा घण्टापछि शव बाहिर ल्याएर एम्बुलेन्समा राखिदिएको उनले बताए । आफन्तले शव बुझ्न नमानेपछि डा. सुनिल यादव भने घटनास्थलबाट बाहिरिएको उनीहरूको आरोप छ । अस्पताल प्रशासनलाई घटनाबारे बुझ्न खोज्दा अस्पताल प्रशासन सम्पर्कमा आउन चाहेन ।