धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले ४ सय किलोग्राम गाँजा सोमबार नष्ट गरेको छ । प्रहरीले जनप्रतिनिधि, स्थानीय र पत्रकारको रोहवरमा गाँजा नष्ट गरेको हो ।
गत माघ २८ गते रातको समयमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा रातको करिब १० बजे ४ सय केजी गाँजा फेला पारेको थियो । चेकजाँच गर्ने क्रममा सहिदभूमि गाउँपालिका वडा नं. ४ स्थित हिले–छिन्ताङ कच्ची सडक–खण्डमा हिलेतर्फ जाँदै गरेको को.१ ज ३११८ नम्बरको पिकअप गाडीमा गाँजा फेला परेको थियो ।
पिकअफ रोक्न खोज्दा नरोकी गाडीको बत्तीसमेत बन्द गरी भागेपश्चात् गाडीलाई प्रहरीले पिछा गरेको थियो । प्रहरीले खानतलासी गर्ने क्रममा गाडीको पछाडि डालाभित्र १५ वटा प्लाष्टिकको बोरामा ४ सय ९ किलोग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर मानबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
घटनास्थलबाट फरार रहेका चालकलाई खोजतलास गर्दै जाने क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले बताएको छ ।