इनरुवा । सेवा सहजीकरणका नाममा सेवाग्राहीबाट निजी फर्मले चर्को शुल्क असुल्ने गरेको भन्दै सुनसरी प्रशासनले त्यसतर्फ निगरानी थालेको छ ।

कार्यालयबाहिर सञ्चालित लेखापढी फर्मले सर्वसाधारणबाट चर्को शुल्क लिने गरेको पाइएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कडाइ थालेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार कार्यालयबाट प्रवाह हुने सेवा सहज र सरल बनाउन विशेष जोड दिइएको हो ।

प्रजिअ पाण्डेले भनिन्, ‘सेवा लिन पुग्ने सर्वसाधारण गेटबाहिरै ठगिने गरेका रहेछन् । जसलाई रोक्नु प्रशासनको दायित्व हो । सोही अनुरूप सेवाग्राहीका लागि कार्यालयबाटै सहज र सरल सेवा प्रवाहको बन्दोबस्त मिलाइएको छ । सोही अनुरूप गर्नु र गराउनु हुन सबैमा अनुरोध छ’ उनले भनिन्, ‘हुलाक टिकट दोब्बर मूल्यमा बिक्री गर्ने गरिएको रहेछ । निःशुल्क पाइने फारमलाई सर्वसाधारणले पैसा खर्चिनु परिरहेको समेत भेटियो ।  फोटोकपीको चौगुणा बढी मूल्य लिने गरेको पाइयो । अझ फारम भरिदिएको र निवेदन लेखेको त मनोमानी रकम असुल्ने गरेको भेटिएपछि कडाइ गरिएको हो ।’

प्रजिअ पाण्डेले सर्वसाधारण सेवाग्राहीको हितमा कार्यालयले त्यस्तो निर्णय लिएको बताइन् । उनले निःशुल्क उपलब्ध हुने सबैखाले सुविधा सेवाग्राहीले हेल्प डेस्कमार्फत् निर्वाध पाउने बताइन् । उनले तोकिएको सरकारी दस्तुरभन्दा बढी लिए दिएको पाइए उजुरी गर्न आग्रहसमेत गरिन् । प्रजिअ पाण्डेले नसक्ने र नजान्नेको हकमा हेल्प डेस्कमार्फत् सहजीकरण हुने बताइन् । उनले निवेदन तथा फारम भर्नुपरेमा डेस्कबाटै निःशुल्क सेवा दिने व्यवस्था मिलाइएको बताइन् । प्रजिअले सोही अनुरूप सेवा लिन जिल्लाबासी समक्ष आग्रहसमेत गरिन् ।

पाण्डेले प्रशासनको कामकाज र सेवा प्रवाहका नाममा बाहिरी फर्म र आबद्ध व्यक्तिको सहजीकरण आवश्यक नरहेकाले सेवाग्राहीलाई सोझै कार्यालयमा सम्पर्क राख्न आग्रहसमेत गरिन् । उनले लेखापढी व्यवसायीलाई अत्यावश्यक कामबाहेकको हकमा आउजाउ नगर्न सूचित गराइएको समेत बताइन् ।

सुनसरी प्रशासनले अघिल्लो प्रजिअको पालाबाटै परिसरभित्र हेल्प डेस्क सञ्चालनमा ल्याएको थियो । नयाँ प्रजिअ पाण्डेले जसबाट प्रवाह हुने सेवालाई विस्तृत र जनमैत्री बनाउने निर्णय गरेकी हुन् । प्रजिअ पाण्डेले जिल्लाभरका कार्यालयबाट प्रदान हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँदै सेवाग्राहीमा सहजताको अनुभूति दिलाउने गरी कामकाज अघि बढाउने प्रतिबद्धतासमेत जनाइन् ।