पुस १० को नयाँ समीकरण अन्ततः दुई महिनामै तोडिएको छ । नेकपा (एमाले) र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन भएपश्चात् राजनीतिक समीकरण नयाँ ध्रुवमा पुगेको छ । संसद्मा तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तामा टिकिरहन खोज्ने प्रवृत्तिको उपज हो या भूराजनीतिको खेल हो ? तथ्यमा भन्न गाह्रो छ । तर, कहीँ न कहीँ प्रचण्डको सत्ताप्रतिको मोह र सत्तालिप्साको केही छनक चाहिँ पुस १० को नयाँ समीकरणबाटै पुष्टि हुन्छ । नेपाली काङ्ग्रेसले प्रधानमन्त्री पद नदिने सङ्केत देखाएपछि तत्कालै एमालेसँग गठजोड गर्न पुगे । अहिले फेरि राष्ट्रपतिका लागि उनले काङ्ग्रेसलगायत दलसँग गठजोड गरेका छन् । यो गठजोडको तत्कालीन फाइदा उनलाई र उनको पार्टीलाई पुग्ला, तर दीर्घकालीन घाटा उनैलाई धेरै छ । नेपाली राजनीतिमा चतुर खेलाडी मानिएका एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्मलाई चित खुवाइदिएका प्रधानमन्त्री प्रचण्डको सत्तामा टिकिरहने स्वार्थले नेपाली राजनीति नयाँ कोर्षबाट अगाडि बढ्ने सङ्केत देखिएको छ ।

राजनीतिमा कोही स्थायी र कोही अस्थायी शत्रु हुँदैनन् । यो विगतदेखि नेपाली राजनीतिमा प्रमाणित हुँदै आएको भनाइ हो । तर, यसले समग्र देशको प्रणालीलाई चाहिँ ध्वस्त बनाउँदै आएको छ । हरेक पटक देश सङ्क्रमणकालीन अवस्थामा प्रवेश गरिरहेको स्थिति छ । त्यसको मार आम जनताले खेपिरहेका छन् । भोलि पनि खेप्ने निश्चित छ । राजनीति देशको मूल नीति हो । तर, यही नीतिमा धमिरा लागेपछि त्यसबाट जनताले के आशा गर्ने ? के परिकल्पना गर्ने ? आ–आफ्नो स्वार्थ सिद्ध गर्नका लागि मात्रै राजनीति गरिरहेको हो कि भन्ने भान पर्न थालेको छ । कुनै दलको स्पष्ट बहुमत नभएको अवस्थाले पनि देश फेरि एकपटक सङ्क्रमणकालीन अवस्थामा फस्ला कि भन्ने आशङ्काहरू जन्मिएका छन् । अहिले नेपाली राजनीतिमा जुन धु्रवीकरण भइरहेको छ, त्यो राष्ट्र तथा राष्ट्रियताका लागि ठीक छैन । किनकि अहिले अनेकन आशङ्काहरू सुरु भएका छन् । नेपालको राजनीतिमा दक्षिणबाट चलायमान हुने र हाम्रा नेताहरू चल्ने पुरानै परम्परा हो । यसले हाम्रो राष्ट्रियतालाई मात्रै कमजोर बनाउँदैन । यसले नेपाल विदेशीहरू खेल्ने क्रिडास्थल मात्रै बन्नेछ । यसो हुनु राजनीतिक दलका लागि बेफाइदा हुँदै हो । जनताका लागि पनि न्याय होइन ।

राष्ट्रपतिलाई हामीले आलङ्कारिक मान्दै आएका छौँ । तर, यो बीचमा के राष्ट्रपतिको भूमिका आलङ्कारिक रहँदै आयो त ? पक्कै पनि राष्ट्रपतिमाथि पनि केही प्रश्नहरू उठे । संवैधानिक राष्ट्रपतिको परिकल्पना गरिएको हाम्रोजस्तो मुलुकमा केही चलखेल भएकै कारणले पार्टीहरूलाई विभिन्न खालका डरहरू भएको देखियो । यही कारणबाट प्रचण्ड धेरै तरल देखिएका हुन् कि ? कुनै अर्कै कारण छ । त्यो आगामी दिनमा खुल्दै जाला । यदि राजनीतिक दलहरूमा दलहरूको राष्ट्रपति हुँदा उधुमै बिग्रिहाल्ने हो भन्ने सोच हो भने ‘थिङ्क ट्याङ्क’ क्षेत्रबाट भिœयाउँदा पनि हुने थियो । तर, त्यसतर्फ पनि सोचेको पाइएन । राजनीतिक दलबाटै प्रतिनिधित्व गर्दा उक्त राष्ट्रपतिले हिजोदेखि अँगालेको पार्टीको दर्शनलाई चटक्कै नभुल्ला । किनकि मानिस कुनै न कुनै विचारबाट निर्देशित हुन्छ नै । विचारविनाको मानिसको परिकल्पना आजको विश्वमा गर्न सकिँदैन । त्यसकारण आजको स्थितिमा नेपाली राजनीतिमा जुन तरलता देखिएको छ, त्यसले अन्ततः नेपालको विकास र समृद्धिलाई नै हानि पु¥याउँछ ।