सुनसरी । सुनसरीको भारतीय सीमाक्षेत्रबाट दिनहुँजसो गाँजा बरामद हुन थालेको छ । फागुन ६ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले २०१÷१ नं. को सीमास्तम्भ नजिकबाट २ सय केजी गाँजा बरामद गर्यो ।

नेपाली भू–भागबाट बोकेर लैजाँदै गरेको अवस्थामा दसगजा क्षेत्रबाट एसएसबीले गाँजा बरामद गरे पनि तस्कर भाग्न सफल भए । सोही दिन एसएसबीकै टोलीले लौकही नाका हुँदै लगिएको ६ सय केजी गाँजा बेला क्षेत्रबाट बरामद गर्यो ।

तीनदिनअघि बेलाबाटै एसएसबीको टोलीले १४ दशमलव ५ सय केजी गाँजासहित दुईजना नेपाली युवालाई नियन्त्रणमा लिएको छ । गाँजासहित सुनसरीको वराहक्षेत्र नगरपालिका बस्ने २४ वर्षीय सङ्गम मगर र भोजपुरको हसनपुर बस्ने २४ वर्षीय सरोज शिवा पक्राउ परेका छन् ।

यस्तै सोमबार राति सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरबाट सशस्त्र प्रहरीको टोलीले भारतीय स्कारपियो गाडीसहित २ सय ५८ केजी गाँजा बरामद गरेको छ । बिआर एके ६१०० नम्बरको स्कारपियोमा भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । गाँजा बरामद गरिए पनि गाडीमा सवार तस्कर भने भागेको बताइएको छ ।

प्रहरीले रोकथाम तथा नियन्त्रण गर्न लागिपरेको बताइरहँदा अझै पनि सुनसरीका विभिन्न सीमा नाका हुँदै गाँजा तस्करी हुने गरेको उल्लेखित घटनाबाट पुष्टि हुन्छ । पहाडी जिल्लाबाट ल्याइने गाँजा रातिको समयमा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्र हुँदै भारततर्फ कटाउने गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति रहे पनि तस्करहरूले उनीहरूलाई छल्दै गाँजा तस्करी गर्दै आएका छन् ।

कोसी नदीमार्फत् धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लाबाट ल्याई भारततर्फ डुङ्गामार्फत् गाँजा तस्करी हुने गरेको बताइएको छ । कोसी नदीमा चल्ने डुङ्गा र बाँस कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरीमा भिœयाउने र सुनसरी हुँदै गाँजा भारत पुग्ने गरेको छ ।

सुनसरीको सीमावर्ती क्षेत्रहरूमा पछिल्लो समयमा प्रहरीले चेकजाँचमा कडाइ गरेपछि भने खुल्ला सीमाको फाइदा उठाएर लागूऔषध र गाँजा कारोबार गर्ने कारोबारीहरू पक्राउ पर्न थालेको प्रहरीको दाबी छ । यद्यपि सुनसरीको सीमामा कडा सुरक्षा निगरानीका बीच पनि यस्ता कारोबार रोकिएको भने छैन ।

निगरानी बढाएकाले गाँजा बरामद गर्न थालिएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी लकेश तुम्बाहाम्फे बताउँछन् । खुल्ला सीमाको फाइदा उठाएर गैरकानूनी रूपमा यस्ता कारोबार भइरहेकोमा एक महिनाको अवधिमा लगभग ३ सय केजी गाँजा बरामद गर्न सफल भएको उनको भनाइ छ ।

सीमामा सशस्त्र प्रहरी शून्यसहनशीलताका साथ चोरी तस्करी नियन्त्रण गर्न लागेको बताउँदै उनले यस्ता कारोबार गर्न कोही कसैले सहयोग गरेको आधार प्रमाण भेटिएको खण्डमा तत्कालै कारबाही गरिने दाबी गरे ।