गाँजालाई बहुउपयोगी वनस्पतिका रूपमा लिइन्छ । यसबाट विभिन्न औषधीदेखि लत्ता कपडासम्म बनाउन सकिन्छ । गाँजाको धार्मिक महत्व पनि रहेको पाइन्छ । धर्मदेखि विज्ञानसम्म प्रयोग हुने गाँजा नेपालमा भने प्रतिबन्धित छ । कानूनअनुसार गाँजाको प्रयोग, खेती वा बेचविखन केही पनि गर्न पाइँंदैन । यद्यपि देशका पहाडी भेगहरूमा गाँजाको अहिले पनि प्रशस्त खेती हुने गरेको छ । लुकीचोरी यसको बेचविखन उत्तिकै भइरहेको छ । प्रहरीले गाँजा खेती भेटे फाँड्ने र गाँजा कारोबार गर्नेलाई पक्राउ गरेर जेल पठाउने गरेको छ । पछिल्लो समय सुनसरीबाट भारततर्फ गाँजा लैजाँदै गर्दा पक्राउ पर्नेहरूको सङ्ख्या बढिरहेको छ । दैनिकजसो युवाहरू पक्राउ परिरहेका छन् । पूर्वी पहाडका धनकुटा, भोजपुरलगायतका क्षेत्रमा गाँजा खेती राम्रोसँग फस्टाउने गरेको छ । त्यतैबाट सुनसरी र मोरङका सीमाक्षेत्रबाट भारतसम्म गाँजा पुर्याउने गरिएको छ ।

नेपालमा गाँजा प्रतिबन्ध फुकुवा हुनुपर्ने भन्दै विभिन्न अभियान सञ्चालन भएका छन् । पूर्व कानूनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङले २०७६ फागुन १९ मा प्रतिनिधिसभामा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने भन्दै विधेयक दर्ता गराएका थिए । त्यसपछि फागुन २० मा बागमती प्रदेशसभामा पनि गाँजा खेतीसम्बन्धी विधेयक दर्ता भएको थियो । पूर्वमन्त्री तामाङलगायतले सातै प्रदेशमा गाँजा खेतीसम्बन्धी विधेयकदर्ता गराउने अभियान चलाएका थिए तर, यो अभियान पछिल्लो समय सुस्तायो । यसका अभियानकर्ताहरूले गाँजालाई कानून बनाएर व्यवस्थितरूपमा खेती गरी औषधि उत्पादन गर्ने कम्पनीहरूलाई बिक्री गर्न पाउनुपर्ने माग गर्दै आएका छन् । तर, प्रहरी प्रशासनले गाँजालाई लागूऔषधका रूपमा लिएर खेती गर्ने र ओसार–पसार गर्नेलाई कारबाही गर्दै आएको छ । गाँजा कारोबार गरेकै आरोपमा धेरै युवाहरू अहिले जेलमा छन् । सन् १९७० को दशकमा नेपालमा गाँजा प्रयोग खुला थियो । विदेशीहरू गाँजा खानकै लागि नेपाल आउने गरेका थिए । काठमाडौंमा खुलारूपमै गाँजा बिक्री वितरण हुन्थ्यो । सन् १९६१ को मार्चमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘सिङ्गल कन्भेन्सन अन नार्काेटिक ड्रग १९६१’ पारित गरेको थियो। जसले गाँजालाई लागूऔषध मान्दै प्रतिबन्ध लगायो । नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागूऔषध नियन्त्रणसम्बन्धी कानून बनायो। त्यसपछि भने नेपालमा गाँजा प्रतिबन्ध भयो । गाँजाको खेती र बेचविखन गर्नेहरू जेल पुग्न थाले । तर, अन्य खेतीपाती राम्रो नहुने पहाडी भेगका पाखाहरूमा पनि गाँजा प्रशस्त हुने भएकाले धेरैले जोखिम मोलेरै गाँजा खेती गरिरहेका छन् । यसलाई रोक्न कानून र प्रहरी प्रशासनले सकेको छैन । कानून बनेर पनि अहिलेसम्म गाँजा किन नियन्त्रण हुन सकेन ? यस विषयमा राज्यले विमर्श गर्नु आवश्यक छ ।

नेपालमा अमेरिकालगायतका मुलुकको दबावमा गाँजालाई प्रतिबन्ध लगाएको भनिन्छ । तर, पछिल्लो समय अमेरिकाले नै गाँजालाई मनोरञ्जनका रूपमा प्रयोग गर्न खुल्ला गरिसकेको विभिन्न समाचारहरूमा उल्लेख छन् । त्यसैले नेपालले पनि यस विषयमा विचार गर्नु आवश्यक छ । त्यसका लागि विज्ञहरूको टोली बनाएर गहन अध्ययन गरी गाँजा खेती गर्दा फाइदा के–के छन् ? र हानि के–के हुन सक्छन् ? भन्ने अध्ययन गरिनु आवश्यक छ । यसका अभियन्ताहरूले गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिने भएकाले ऐन बनाएर नियन्त्रितरूपमा खेती गर्न दिइनुपर्ने माग गर्दै आएका छन् । अर्कातिर कतिपय विज्ञहरूले यसका हानिहरू पनि धेरै भएकाले खुला गर्न नहुने तर्क गर्दै आएका छन् । वैज्ञानिक रूपमा अध्ययन गरी फाइदा भए कानून बनाएर खुला गरिनु पर्छ अनि बेफाइदा हुन्छ भने यसको नियन्त्रणमा अझ कडाइ गरिनु आवश्यक छ ।