धनकुटा । माझी समुदायले शान्ति, प्रगति र उन्नतिकोे कामना गर्दै तमोर नदीमा पूजा गरेका छन् ।

धनकुटा-९ छिम्सुवा र सहिदभूमि गाउँपालिका–७ साप्तिङ्गटारका २५ घर माझी समुदायले मङ्गलबार तमोर नदी पूजा गरेका हुन् । माझी समुदायका पुजारी मङ्गले माझी र हर्कबहादुर माझीले तमोर नदीको किनार साप्तीङटारमा बोका र कुखुराको बलि दिई पूजा गरेका हुन् ।

माझी समुदायकी अगुवा पवित्रा माझीले भनीन्, ‘तमोर गडतिरमा रहेका सदाम, कुसेटार, भैँसे, सदाम, याक्चाना, छरुवा, साप्तीङ्ग, छिम्सुवा, चिम्राहाका माझी समुदायले परापूर्वकालदेखि नै कोसी पूजा गर्ने गरेकोले यस पटक पनि गरिएको हो ।’ उनले पूजा गर्दा सामूहिक रूपमा गरिने भएकाले पूजा सामाग्री पनि सामूहिक नै खरिद गर्ने गरेको बताइन् ।

पूजा सकिएपछि पुजारीले सहभागी सबैलाई टीका लगाई दिएर आशीर्वाद दिने–लिने प्रचलन रहेको छ । पुजारीबाट टीका ग्रहण गरेसँगै सहभागी माझी परिवारका सदस्यहरूले पुजारीलाई भेटी चढाएर शिर उठाउने चलन समेत रहेको छ ।

कोसी पूजासँगै पुजारीबाट टीका ग्रहण गरी सकेपछि पूजाको प्रसाद एक आपसमा बाँडेर खाने गर्छन् । प्रसाद खाई सकेपछि माझीको ढोलकी र मादल बजाएर हाक्पारे भाकामा माझी सुमदायको युवायुवतीहरू एक अर्कामा हाँसखेल गर्दै नाच्ने रमाउने गर्दछन् । धनकुटा जिल्लामा कुल ७२ प्रतिशत आदिवासी जनजातिहरूको जनसङ्ख्यामध्ये माझी जाति ०.४३ प्रतिशत रहेका छन् ।

जिल्लाको साँगुरीगढीको कुसेटार, सदामटार, चौबीसे गाउँपालिकाको भैँसेटार, सहिदभूमि गाउँपालिकाको सापताङ्गटार, धनकुटा नगरपालिकाको छिम्सुवाटार, पाख्रीबास नगरपालिका र महालक्ष्मी नगरपालिकाको लेगुवालगायत तमोर र अरुण नदीको आसपास बसोबास गर्दै आइरहेका छन् ।