भद्रपुर । अवैध सुपारी र पिकअपसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ मा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडीलाई शङ्का लागेर चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएको २ हजार किलो सुपारी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गाडी, गाडी चालक दमक नगरपालिका–१ का २८ वर्षीय मुकेश चौधरीसमेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको जिल्लाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

त्यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाँघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–१ सालमारामा भारतबाट भन्सार छली अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको १८ थान प्लाष्टिकको टेवलहरू बरामद गरेको उनले जनाए । त्यसैगरी बिहीबार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ मा नेपालबाट अवैधरूपमा भन्सार छली भारततर्फ लाँदै गरेको ६० किलो सुपारी बरामद गरेको छ । अन्दाजी ९४ हजार रुपैयाँ मूल्य बराबरको ती सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको उनले जनाए ।