भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा रहेको भद्रपुर मारवाडी सङ्घको अध्यक्षमा अजय कुमार साहेवाला सर्वसम्मत चयन भएका छन् । साहेवालाको यो दोस्रो कार्यकाल हुनेछ ।
भद्रपुर ६ स्थित सङ्घको कार्यालय परिसरमा यस वर्षको होली पर्वको सन्दर्भमा शनिबार साँझ आयोजना गरिएको होली मिलन समारोहको अवसर पारेर सङ्घको नयाँ कार्यसमिति चयन गरिएको हो ।
मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालको प्रमुख आतिथ्यमा आयोजित समारोहले सर्वसम्मत चयन गरेको कार्यसमितिको उपाध्यक्षमा विनय गोयल, सचिवमा मुकेश मित्रुका, सहसचिवमा गोपाल साहेवाला र कोषाध्यक्षमा दिलीप वंशल रहेका छन् भने पुष्कर अग्रवाल, भाष्कर शर्मा, निर्मलकुमार अग्रवाल, दिवाकर शर्मा, सन्दीप अग्रवाल, जितेन्द्र शर्मा, अविनाश नाहाटा, महावीर मित्रुका र मोहित शर्मा सदस्य रहेका छन् । यस्तै महेश मित्तल निवर्तमान अध्यक्षको रुपमा कार्यसमितिमा रहने नवनिर्वाचित अध्यक्ष साहेवालाले जानकारी दिए ।
भद्रपुर मारवाडी सङ्घ, भद्रपुर मारवाडी युवा सञ्च, भद्रपुर मारवाडी महिला मञ्च तथा भद्रपुर मारवाडी युवती मञ्चले संयुक्तरुपमा आयोजना गरेको समारोहका बीच होलीसँग सम्बन्धित विविध साँङ्गीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु रहेका थिए भने मारवाडी समुदायबाट शिक्ष क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कुत गरिएको थियो ।
उनीहरुलाई समारोहका प्रमुख अतिथ अग्रवाल, विशिष्ट अतिथि सङ्घका पूर्व अध्यक्ष सत्यनारायण तायललगायतले पुरस्कार वितरण गरेका थिए ।भाष्कर शर्मा र निलम गोयलले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा उल्लेख्य सहभागिता रहेको भद्रपुर मारवाडी युवा मञ्चका अध्यक्ष दिपक अग्रवालले जानकारी दिए ।