वर्षा नहुँदा त्यसको प्रत्यक्ष असर किसानलाई पर्छ । फसलमा पर्छ । फसल कम उत्पादन हुँदा त्यसको असर सर्वत्र पर्दछ । अर्थात् देशलाई नै असर पर्दछ । अहिले किसानहरू समयमा पानी नपरेका कारणले चिन्तित छन् । जमिन सुख्खा हुने कारण फसल राम्रोसँग उम्रिन पाउँदैन । जसले गर्दा किसानको लगानी खेर जान्छ । लगानी पनि दुई तरिकाले खेर जान्छ, एउटाः मिहिनेत, अर्कोः बिउ । मिहिनेतको भलै मूल्य नपाउलान् तर, बिउको मूल्य भने किसानले प्रत्यक्ष रूपमा भोग्छन् । त्यसकारण वर्षा भएन भने त्यसको असर सर्वत्र पर्न जान्छ । वर्षा भएन भने पानीको मूल पनि सुक्छ । विगतमा यसबेलासम्म चार–पाँचपटकसम्म पानी परिसकेको हुन्थ्यो । माघदेखि पानी पर्न सुरु हुन्थ्यो तर, यसपटक पानी पर्न सकेको छैन । यो हुनुका पछाडि थुप्रै कारण छन् । विकासको नाममा जुन होडबाजी अपनाइएको छ, त्यसको प्रत्यक्ष असर सबैतिर पर्न थालेको छ । पृथ्वीको तापमान वृद्धि हुनुमा मानवीय गतिविधि पहिलो कारक तत्व हो ।

आज विश्वमा जुन होडबाजी भइरहेको छ, त्यसले हाम्रो समग्र पृथ्वी र पृथ्वीमा भएको वातावरण, पर्यावरणलाई चुनौती भइरहेको छ । मानवीय गतिविधिको असर अन्टार्कटिका महादेशमा पनि देखिन थालेको छ । त्यहाँको हिउँ पग्लिन थालेको छ । हाम्रा हिमालहरू कालापत्थरमा सीमित हुन थालेका छन् । अतिवृष्टि, अनावृष्टि, अम्लीय वर्षाजस्ता अनकेन समस्या हामीले भोगिरहेका छौँ । यसले हाम्रो जीवनपद्दति र शैलीमा पनि परिवर्तन ल्याएको छ । जैविक विविधतामाथि दोहन भइरहेको छ । विश्वले अँगालेको औद्योगिक होडबाजीले गर्दा हामी त्यसको प्रत्यक्ष शिकार भइरहेका छौँ । अझ साना तथा विकासोन्मुख देशहरू त्यसको प्रत्यक्ष मारमा परेका छन् । वातावरण अनुकूलनको नाममा उनीहरूले हामीलाई क्षतिपूर्तिबापत रकम दिएर भुलाइरहेका छन् । हाम्रोजस्तो देश चाहिँ उनीहरूका लागि वातावरण अनुकूलन गरिदिने यन्त्र बनेको छ । उनीहरूबीचको होडबाजीको शिकारमा हाम्रा किसानहरू परिरहेका छन् । किनकि ६५ प्रतिशतभन्दा बढी नेपाली नागरिकहरू अहिले पनि कृषिकर्ममा केन्द्रित छन् । त्यहाँबाट उत्पादित वस्तुले उनीहरू जीविका मात्रै चलाउँदैनन् । देशको अर्थतन्त्रमा थोरै भए पनि भूमिका खेलिरहेका छन् । त्यसो त नेपालको कृषिकर्मको अर्थतन्त्रको कुरा गर्ने हो भने झण्डै २९ प्रतिशतको हाराहारीमा छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा यो हिसाबमा त्याग हुनु सामान्य विषय होइन ।

मानवले प्रकृतिमाथि गरिरहेको दोहनको परिणाम पनि हामीले नै भोगिरहेका छौँ । यो दोहनको अन्त्य सायदै होला । तर, यसलाई नियन्त्रित गर्न चाहिँ आजको आवश्यकता हो । हुन त विगतदेखि तापमानलाई एउटा अङ्कमा राख्ने प्रयासका लागि कोप सम्मेलनहरू नहुने होइनन् । तर, ती सम्मेलनहरूले निकालेका निचोडहरूलाई यथार्थमा परिणत गर्ने हुर्मत सायदै ठूला देशहरूले लिइरहेका छन् । मानव प्रकृतिमैत्री प्राणी हुन् । प्रकृतिको नष्ट हुनु मानवको अन्त्य हुनु पनि हो । त्यसकारण आज वर्षा नहुनुको प्रभाव एउटा कृषिमा मात्रै परिरहेको छैन । समग्र देशको अर्थतन्त्रमा पनि पर्दछ । कृषिमा बढ्दो रासायनिकीकरण, विषादीकरणको प्रभाव पनि केही आंशिक रूपमा हामीले भोगिरहेका छौँ । अब हाम्रा प्रयासहरू विषादीमुक्त गर्ने प्रयासका लागि हुनुपर्छ । हामीले बोटबिरुवा रोप्ने र त्यसलाई हुर्काउने वातावरण सिर्जना गरिनुपर्छ । वर्षा नहुनुको कारण यो पनि हो । यसतर्फ किसान पनि सचेत हुने हो कि ?