त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनलागेपछि विद्यार्थी सङ्गठनका गतिविधिहरू बढिरहेका छन् । विश्वविद्यालयका ६२ आङ्गिक क्याम्पसमध्ये ६० वटामा स्ववियु निर्वाचनको तयारी सुरु भइसकेको छ । निर्वाचनका लागि एउटै क्याम्पसबाट २४ वटासम्म विद्यार्थी सङ्गठन तथा समूहहरू दर्ता भएका छन् । देशभरका क्याम्पसहरूमा रहेका अधिकांश विद्यार्थी सङ्गठनहरू राजनीतिक दलका भातृ सङ्गठनका रूपमा रहेका छन् । दलकै भातृ सङ्गठन भएकाले उनीहरूका अधिकांश गतिविधि दलको नीति निर्देशनअनुसार केन्द्रित हुने गरेका छन् । विद्यार्थी सङ्गठनहरू विद्यार्थीको हकहित र शैक्षिक सुधारका लागिभन्दा दलको हकहितका लागि काम गर्ने गरेको प्रष्ट छ । त्यसैले पछिल्लो समय दलका सङ्गठनमा आमविद्यार्थीको आकर्षण घट्दो छ । यसपटकको निर्वाचनमा पनि दलका साथै स्वतन्त्र समूहहरूको सङ्ख्या बढेको देखिएको छ । देशका अधिकांश क्याम्पसमा विद्यार्थीहरू गैरदलीय समूह बनाएर चुनावमा होमिएका छन् ।
नेपालका धेरैजसो शिक्षक, विद्यार्थी, पत्रकार, वकिलहरूसमेत राजनीतिक दलका कार्यकर्ताका रूपमा सङ्गठित भएका छन् । स्वतन्त्र रहनु पर्ने पेशामा आबद्धहरू नै दलका कार्यकर्ता बनेपछि धेरै कुरामा समस्या उत्पन्न हुनु स्वभाविकै हो । त्यसैले बेलाबेला शिक्षा क्षेत्रमा राजनीतिकरण गर्न नहुने आवाज उठ्ने गरेको छ । तर, यस्तो आवाज निकै मधुरो छ । जसलाई राजनीतिक दलहरूले सुने पनि नसुने झैं गरिरहेका छन् । विद्यार्थी र शिक्षकमा भएको राजनीतिकरणले सरकारी शिक्षाक्षेत्र अस्त–व्यस्त छ । विद्यार्थी सङ्गठनहरूको प्रमुख काम विद्यार्थीको हकहित हुनुपर्ने हो । तर, विद्यार्थी सङ्गठनहरू दलका नेताको इसारामा सङ्गठन विस्तारमा लाग्ने, आफू अनुकूल काम नभए कलेजमा ताला लगाउने, तोडफोड गर्ने, आगो लगाउने काम गर्दै आएका छन् । अझ नियालेर हेर्ने हो भने विद्यार्थी सङ्गठन भ्रष्टाचार सिकाउने संस्थाका रूपमा विकास भइरहेका छन् । विगत लामो समयदेखि क्याम्पसहरूमा स्ववियु गठन भएको छैन । पुराना समितिको कार्यकाल उहिल्यै सकिएको हो तर, अहिले पनि क्याम्पसहरूमा हरेक विद्यार्थीबाट स्ववियुका लागि भनेर शुल्क असुलिन्छ । त्यो पैसा कहाँ र कसले प्रयोग गरिरहेको छ ? स्ववियुका नाममा देशभरका क्याम्पसबाट करोडौं रकम उठ्छ, त्यो पैसा क–कसले भागबन्डा गरिरहेका छन् ? खोजी हुनु आवश्यक छ ।
राजनीतिक दलहरूले पार्टी सदस्य बढाउने नाममा विद्यार्थीहरूलाई कार्यकर्ता बनाउनु उचित होइन । क्याम्पसका विद्यार्थीहरूको निर्वाचनमा दलहरूको हस्तक्षेप बन्द हुनुपर्छ । विद्यार्थीहरूले स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुन र मतदान गर्न पाउनु पर्छ अनि मात्र विद्यार्थीहरूको हित र शिक्षाक्षेत्रको विकृति हटाउने विषयमा काम हुन सक्ला । अन्यथा दलहरूको चाहना विना स्ववियुले स्वतन्त्रपूर्वक काम गर्न सक्दैन । दलको हतियार बनेर क्याम्पसहरूमा दादागिरी जमाउने विगतको कार्यशैली विद्यार्थी सङ्गठनहरूले परिवर्तन गर्नु आवश्यक छ । राजनीतिक दलहरूले पनि विद्यार्थीहरूलाई पठन–पाठन, शिक्षा, विद्यार्थीका समस्यामा केन्द्रित हुन सहयोग गर्नुपर्छ । भविष्यका देश हाँक्ने मान्छे अहिलेको कार्यशैलीले उत्पादन हुन मुस्किल छ । विद्यार्थीहरूले पनि यो कुरालाई मनन् गरेर सक्षम उम्मेदवारलाई चयन गर्नु आवश्यक छ ।