नेपाली भाषाको लेखन प्रणालीअन्तर्गत वर्णविन्यास र पदयोग तथा पदवियोगका सम्बन्धमा एक दशकदेखिको विवाद फेरि सुरु भएको छ ।
खास गरेर यही फागुन १७ गते १ नं. प्रदेशको प्रदेश सभाबाट यसको नाम कोशी राखिएपछि ‘कोशी’ कि ‘कोसी’ लेख्ने भनेर विवादको प्रारम्भ भएको हो । ‘कोसी’ लेखिनुपर्छ भन्नेहरूका दुईवटामात्र तर्कहरू छन्ः (१) यो संस्कृतको कौशिकी शब्दबाट बनेको हुँदा तद्भव शब्द भयो र तद्भव तथा आगन्तुक शब्द सबैमा नेपाली उच्चारणअनुसार एउटै ‘स’ वर्णको प्रयोग गरिनुपर्ने भएकाले कोसी लेखिनुपर्छ, (२) नेपालको आधिकारिक भाषिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशमा ‘कोसी’ शब्द भएकाले यही नै हुनुपर्छ ।
यस्ता तर्कहरू कुतर्क होइनन्, विचारणीय नै हुन् तर, कस्ता शब्दमा कस्तो वर्णविन्यास हुने भन्ने कुरा केही सिद्धान्त र परम्परामा आधारित हुन्छ । कुनै पनि भाषाको वर्णविन्यास संसारभरि एकै किसिमको हुन्छ । संस्कृत, मैथिली, हिन्दी, अङ्ग्रेजी (अमेरिकालीका केही शब्दबाहेक), लिम्बू आ–आफ्नै लिपिका एकै किसिमका वर्णविन्यासमा लेखिन्छन् । नेपाली भाषा नेपालभित्रमात्र लेखिने र बोलिने होइन, यसर्थ नेपालमा कुनै निर्णय गरिँदैमा त्यो सर्वत्र लागू हुँदैन । वर्णविन्यासमा नियमन नेपाली विषय पढाउने शिक्षक–प्राध्यापकहरू तथा प्राज्ञ भनिने व्यक्तिहरूका पदीय शक्तिका आधारमा हुँदैन । यसका लागि परम्परागत प्रयोगलाई हेर्नुपर्दछ किनभने भाषा जस्तै लेखन प्रणाली पनि यादृच्छिक हुन्छ । नेपाली विषय पढाउने केही शिक्षक प्राध्यापकहरूबाहेक अरूले तत्सम, तद्भव र आगन्तुक शब्द चिन्दैनन् । सबै शब्दकोशमा शब्दस्रोत र व्युत्पत्ति (बनोट) दिइएको पनि हुँदैन । यस अवस्थामा तत्सम, तद्भव र आगन्तुक शब्द भनेर कसरी चिन्ने ? जहाँसम्म शब्दकोशको सन्दर्भ छ, त्यसलाई हेरौं । नेपालमा आधिकारिक शब्दकोशका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशलाई लिइन्छ तर, यसमा स्थायित्व छैन, प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी फेरिँंदै जाँदा शब्दकोशमा पनि परिमार्जन हुँदै जान्छ । के चार–चार वर्षमा वर्णविन्यास फेरिनुपर्ने ? लेखन प्रणाली दीर्घकालिक हुन्छ । अर्को कुरा, शब्दकोशमा ‘कोशी’ शब्दको प्रविष्टि दिएर हेर्नू ‘कोसी’ भनिएको छ । ‘कोशी’ गलत वर्णविन्यास हो भने गलत वर्णविन्यास भएका शब्दलाई शब्दकोशमा राखिन्छ र ? यसरी प्रज्ञा–प्रतिष्ठानको शब्दकोश पनि अस्पष्ट र विरोधाभासपूर्ण देखिन्छ । प्रज्ञा–प्रतिष्ठानका शब्दकोशले के पनि स्वीकार गरेको छ भने जात, थर आदि बुझाउने केही शब्दहरू तद्भव वा आगन्तुक भए पनि परम्परात रूपमै लेखिन्छन्, जस्तै: शेरचन, शेर्पा, शाह, शाही । आश्रयका अर्थमा शरण लेखिन्छ तर, हाम्रा एक प्राध्यापक तथा साहित्यकारचाहिँ सरणकुमार राई लेख्नुहुन्छ । यसलाई मान्ने कि नमान्ने ? यसको अर्थ के पनि हो भने स्थापित वा प्राविधिक प्रयोग पनि वर्णविन्यासको आधार हुन्छ । प्रदेश नं. १ को प्रदेश सभाले आधिकारिक रूपमा ‘कोशी’ भनेर निर्णय गरिसकेकाले पनि ‘कोसी’ नभएर ‘कोशी’ नै हुन्छ । अब विवाद नगरौं ।
यसैगरी आर्ष वा शिष्ट प्रयोग पनि हेरिन्छ । पत्रपत्रिका, अधिकांश पुस्तकहरू, सार्वजनिक प्रयोग शिष्ट प्रयोग हुन् । तर्कले नमिल्ने अवस्थामा पनि कतिपय शब्दहरूको वर्णविन्यास परम्परा र शिष्ट प्रयोगमा निर्भर हुन्छ । उस्तै उच्चारण सुनिए पनि वर्णविन्यासले गर्दा कतिपय शब्दको अर्थ फरक पर्दछ । जस्तै ः सहरः एक किसिमको माछा, शहरः नगर । यसैगरी ‘कोशी’ र ‘कोसी’ शब्दका अर्थमा पनि भिन्नता छ ।