भद्रपुर । शैक्षिक सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर झापाको एक पालिकाले नेपालमा नै पहिलो पटक विद्यालयस्तरमा मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

झापाको हल्दीबारी गाउँपालिकाले सोमबार आयोजना गरेको सो प्रविधिको उद्घाटन  पूर्वमन्त्री तथा सङ्घीय सांसद् राजेन्द्रप्रसाद लिङ्देनले गरेका थिए । शिक्षामा व्यापक गुनासा आएपछि पालिकाले आर्थिक वर्ष ०७५/७६ बाट विद्यालयमा सीसी क्यामरा जडान सुरु गरेको थियो ।

पालिकाभित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा आ.व.०७९/८० सम्म २४ लाख ८८ हजार रुपैयाँको लागतमा क्यामरा जडान गरिएको जनाएको छ । क्यामरा जडान गरेपछि विद्यालयका अभिभावकलगायत सरोकारवालाले आफ्नो मोबाइलमा एप्स डाउनलोड गरेपछि हेर्न चाहेको विद्यालयको गतिविधि इन्टरनेटको सहायताले हेर्न मिल्ने पालिकाका सूचना तथा प्रविधि प्रमुख सुशील कडरियाले बताए ।

वडामा कार्यरत कम्प्युटर अपरेटर र पालिकाका प्रविधि प्रमुखले मोबाइलमा एप्सको व्यवस्थापन गरिदिने उनले जनाए । पालिकाभित्र ४० प्रतिशत मानिस स्मार्ट मोबाइल चलाउन सक्ने भएकोले यो प्रविधि उपयुक्त देखिएको उनले दाबी गरे । नेटवर्कको विस्तार सबै क्षेत्रमा भइसकेकोले इच्छुक व्यक्तिले यसको भरपूर उपयोग गर्न सकिने उनको भनाइ छ ।

३२ हजार जनसङ्ख्या रहेको हल्दीबारीमा ५ हजार ५ सय ८१ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । ९९ प्रतिशत साक्षर रहेको पालिकामा ८० प्रतिशत शिक्षित रहेको शिक्षा शाखाले जनाएको छ ।  त्यसैगरी ४९ प्रतिशत किसान रहेको पालिकामा ६५ प्रतिशतले मोबाइल चलाउन सक्ने जनाइएको छ । मोबाइल एप्स प्रयोगमा आएपछि विद्यालयको गतिविधि तुरुन्त जानकारी हुने पालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले जनाए ।

विद्यालयको सुरक्षामामा वृद्धि, पालिकाबाट निरन्तर अनुगमनमा सहजता, अभिभावकले घरमै बसेर विद्यालयको गतिविधि नियाल्ने, भौतिक पूर्वाधारका बारेमा जानकारी हुने लगायतका महŒवपूर्ण काममा सहयोग पुग्ने उनले बताए । शैक्षिकमा मात्र नभई अन्य क्षेत्रमा पनि पालिकाले प्रविधिमा फड्को मारेको उनको भनाइ छ । विद्यालयस्तरमा मोबाइल एप्सको सुरुवात गर्ने नेपालका पालिकामध्ये  हल्दीबारी  पहिलो  भएको उनले दाबी गरे ।

यता कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री लिङ्देनले नेताले कर्मचारी बिगारेको बताएका छन् । थोरै समय मन्त्री हुँदाको अनुभव सुनाउँदै उनले यस्तो बताएका हुन् । कर्मचारीले नियम पालना गरे पनि नेताका दबावका कारण कर्मचारी झुक्नुपरेको उनको भनाइ थियो । पदमा रहँदा केही महŒवपूर्ण कार्यक्रम गरिएको उल्लेख गर्दै समय आएपछि सार्वजनिक गरिने उनले जनाए ।

सोही कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी खेलाडीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन सूचना अधिकारी राजन न्यौपानेले गरेका थिए ।