विराटनगर । बिरामीलाई आर्थिकरूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामग्रीको तस्करी व्यापकरूपमा हुने गरेको पाइएको छ । भारतीय बजारबाट तस्करी भएर आएका खाद्यपूरक सामग्री विराटनगर हुँदै पूर्वी सहरमा जाने गरेको पाइएको हो ।

भारतमा किलोको हिसाबले खाद्यपूरक सामग्री ल्याउने र यहाँ औषधि भन्दै फार्मेसीहरूबाट महँगोमा बिक्री वितरण हुने गरेको छ । यसरी फार्मेसीबाट खाद्यपूरक सामग्री बिक्रीवितरणमा औषधि व्यवस्था विभागले तीन वर्षअगाडि प्रतिबन्ध लगाएको छ । तर, तस्करी गर्न पल्किएका केही औषधिको थोक बिक्रेता र सञ्चालकहरूले भरिया प्रयोग गरी खाद्यपूरक सामग्री किलोको हिसाबले ल्याउने र यहाँ ल्याएपछि प्रतिथानका हिसाबले औषधि भन्दै महँगोमा बिक्री वितरण गर्ने गरेको छ । यसरी ल्याउने क्रममा मोरङ प्रहरीले ठूलो परिमाणमा खाद्यपूरक सामग्री बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१६ स्थित उखुबारी नजिकबाट ८ लाख ४६ हजार ७ सय २० रुपैयाँको खाद्यपूरक सामग्री बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले बताए ।

अवैधरूपमा भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याएको ग्लोबल गेल, लाइफटेन नामको खाद्यपूरक सामग्री बरामद गरेको उनले बताए ।  नेपालमा भन्दा भारतमा सस्तोमा खाद्यपूरक सामग्री पाउने भएपछि तस्करी धन्दामा लागेका गिरोहले अवैध बाटो भएर ल्याउने गरेका छन् ।

भारतमा किलोको हिसाबले जोखेर पाइने खाद्यपूरक सामग्री नेपालमा ल्याएपछि प्रतिपत्ता ३ सयदेखि पाँच सय रुपैयाँसम्ममा औषधि भन्दै बिक्री वितरण गर्ने गरेको पाइएको हो । फार्मेसी पसलमा बिक्री वितरणमा प्रतिबन्ध लगाएको खाद्यपूरक सामग्री विराटनगरसहित पूर्वी सहरमा खुलेआम बिक्री वितरण हुने गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले डिपार्टमेन्ट स्टोरमा बिक्रीको लागि अनुमति पाएको खाद्यपूरक यहाँ खुलेआम औषधि पसलमा बिक्री हुने गरेको छ ।

नियमनकारी निकाय औषधि व्यवस्था विभागले बेलाबखत अनुगमन गरेपनि पछिल्लो समय बजार अनुगमन गर्न छोडेपछि अहिले विराटनगरको ठूला हस्पिटलनजिकका फार्मेसीहरूले त्यस्ता खाद्यपूरक सामग्रीको बिक्री वितरण खुलेआम गर्ने गरेका छन् । यसरी औषधि पसलले खाद्यपूरक सामग्री बिक्री वितरण गरे पनि कोशी प्रदेशसहित मधेश प्रदेशको अनुगमन र निरीक्षण गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग विराटनगर मौन बस्ने गरेको छ ।

नियामक निकाय औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले फार्मेसीहरूले खाद्यपूरक सामग्री बिक्री वितरणमा राखेको पाइए बरामद गरी कारबाहीको प्रक्रियामा लैजाने गरेको बताए । ‘हामीलाई सूचना आएसम्म फार्मेसीमा बिक्री वितरणमा राखेको खाद्यपूरक सामग्री अनुगमन गरी बरामद गर्दै कारबाहीको प्रक्रियामा ल्याउने गरेका छौं’–उनले भने । यसअघि पनि विभागले सात महिनामा २९ वटा फार्मेसीले औषधि भन्दै बिक्री गर्न राखेको ठूलो परिमाणमा खाद्यपूरक सामग्री नियन्त्रणमा लिएको उनले बताए ।

यसरी डिपार्टमेन्ट स्टोरमा राखेर बिक्री वितरण गर्ने खाद्यपूरक सामग्रीलाई औषधि भन्दै बिक्री वितरण हुने गरेको पाइएपछि फार्मेसीहरू अनुगमन गर्दै बरामद गर्ने र नष्ट गर्ने अभियान सुरु गरिएको उनले बताए । कमिसनको चक्करमा चिकित्सकले पनि ‘न्युट्रास्युटीकल’ सिफारिस गरिदिने गरेका छन् ।

खाद्यपूरक वा आहारपूरक सामग्रीहरूको जथाभावी प्रयोगले बिरामी, बिरामीको परिवार तथा समाजलाई पु¥याउने आर्थिक नोक्सानी हो । आर्थिक प्रलोभनमा परी चिकित्सकहरूले अत्यन्त महँगा खाद्यपूरक वा आहारपूरक सामग्रीहरूको सिफारिस गर्ने गरेकाले सर्वसाधारण मानिसहरूले त्यसको ठूलो आर्थिक बोझ चुकाउनु परेको छ । कतिपय बिरामीलाई चिकित्सकहरूले ६ महिनादेखि १ वर्षसम्मका लागि त्यस्ता सामग्रीहरूको सिफारिस गर्ने गरेका छन् ।

चिकित्सकहरूले त्यस्ता सामग्रीहरू सिफारिस गर्दा फलानो पसलमा गएर किन्नू भनेर तोकेरै भन्ने र किनिसकेपछि आएर मलाई देखाउनूसमेत भन्ने गरेका छन् । यसबाट खाद्यपूरक वा आहारपूरक सामग्रीहरूको गलत प्रयोग कुन हदसम्म हुने गरेको छ भन्ने पुष्टि हुने गरेको छ ।