नेपाली क्रिकेटको इतिहास त्यति लामो छैन तर, यही खेलमा नेपालले गरेको प्रगति भने लोभलाग्दो छ । नेपाली क्रिकेटलाई अझै तिखार्न सकिने प्रशस्तै ठाउँहरू छन् । यसलाई चिल्याउन सकिन्छ तर, राजनीतिले क्रिकेटलाई पनि गाँजेको छ । क्यान राजनीति भूमरीमा फस्ने गरेको छ । त्यसका बावजुद पनि नेपाली क्रिकेटले एउटा उचाइ चुमेको छ । हरेक दिनजसो युवा खेलाडीहरूको आगमनले पनि नेपाली क्रिकेटलाई जाज्वल्यमान बनाउँदै लगेका छन् । विश्वमा चिनाउन सफल भएका छन् । अन्य खेलमा जति लगानी भएको छ, त्योअनुसार क्रिकेटमा पनि लगानी हुने हो भने पक्कै पनि नेपाली क्रिकेट थप उचाइमा पुग्ने थियो । नेपाली क्रिकेटरहरूले अहिले जे जति साधन स्रोतमा काम गरिरहेका छन्, त्योभन्दा बढी साधनस्रोत जुटाउने हो भने पक्कै पनि हामी विश्वकप नजिक पुग्न धेरै दिन बाँकी रहँदैन । अहिले भावनाले खेलिरहेका छन् । युवाको जोस र जाँगरले यो उचाइ चुमेको हो । यसलाई थप बल पु¥याउन राज्यले लगानी गर्न आवश्यक छ । राम्रा प्रशिक्षक तथा खेल मैदानको आवश्यक छ । हामीसँग अन्य खेलमा जति पूर्वाधार पनि यस खेलमा छैन । यसका लागि राज्य गम्भीर बन्न आवश्यक छ ।

नेपालले सन् १९६६ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट सदस्यता प्राप्त गरेको थियो । त्यसयता क्रिकेटका गतिविधिहरू अन्तर्राष्ट्रियस्तरमा मापन गरिँदै आएको छ । नेपाल सन् २०१४ मा टी ट्वान्टी इन्टरनेशनलमा अवार्डेड हुने मौका पायो । त्यो लगत्तै नेपाल आइसीसी टी ट्वान्टीमा क्वालिफाइङ हुने मौका प्राप्त ग¥यो । आइसीसीबाट मान्यता प्राप्त भएयता नेपालले पहिलो पटक सन् २०१५ मा एसीसी ट्रफी उचाल्न सफल भयो । त्यसयता नेपालको क्रिकेटमा लोभलाग्दो प्रगति गर्दै गएको छ । तर, क्यानको विवाद र राजनीतिक रस्साकस्सीले पनि नेपाली क्रिकेटलाई माथि उठाउन सकिएको छैन । यस्ता विवादहरू खेलका निम्ति किन हुन्छन् ? खेलाडीका निम्ति किन हुन्छन् ? यस्ता आमप्रश्नको जवाफ अहिलेसम्म नेपाली जनताले पाएका छैनन् । हरेक क्षेत्रमा राजनीतिको दबदबा भइरहँदा खेल क्षेत्रलाई पनि कुनै न कुनै रूपमा गाँजेको छ । यस्तो हुनु दुःखद् हो । अहिले नेपाली क्रिकेटले लिग २ मा जुन खालको प्रदर्शन गरिरहेको छ, त्यो उच्चस्तरीय प्रदर्शन हो । यस्ता प्रदर्शनहरूले नेपाली क्रिकेटलाई थप उचाइमा पु¥याउने निश्चित छ । मध्यपूर्व देश दुबईमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले जित निकालिरहेको छ । अब यही खेल नेपालमै फागुन २५ गतेदेखि फेरि हुँदै छ । नेपाललाई सबै खेल जित्नुपर्ने दबाव छ । तर एउटा लयमा रहेकाले पनि नेपालको जित निश्चित देखिँदै गएको छ ।

खेल देशको गौरव हो । खेलको अर्थ खेल मात्रै होइन । यसको राजनीतिक भनेको अर्थसँग जोडिएको हुन्छ । देशको अभिमानसँग गाँसिएको हुन्छ । खेलले खेल पर्यटनलाई बढावा दिन्छ । यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि थप मजबुत बनाउँछ । यो दृष्टिबाट हेर्ने हो भने नेपाली खेलकुदमा लगानी आवश्यक छ । पूर्वाधारहरूमा लगानी आवश्यक छ । राज्यले खेलकुद त्यसमा पनि क्रिकेटमा लगानी गर्न आवश्यक छ । सरकारले योजना बनाउन आवश्यक छ । त्यो योजनालाई मूर्तता दिनका लागि त्यहीअनुसारको लगानी भित्र्याई अवसर सिर्जना गरिनुपर्छ । राजनीति देश सञ्चालनका लागि आवश्यकीय वस्तु हो । त्यसलाई सबै ठाउँमा प्रयोग गर्नु उचित हुँदैन । खेलाडीहरूलाई राजनीतिभन्दा माथि उठाएर उनीहरूलाई देशको निम्ति खेल्ने योग्य व्यक्ति बनाउन आवश्यक छ । भोलि जो कोहीले पनि खेल खेलेर पनि आफ्नो आजीविका धान्न सक्छु भन्ने हिम्मत राखोस् । त्यो वातावरण सिर्जना गर्ने दायित्व सरकारकै हो । आज तीन तहको सरकारले ग्रास रुटबाटै अभियान थाल्न जरुरी छ । लगानीअनुसारको प्रतिफल ल्याउने योजना बुन्न आवश्यक छ । विना योजना काम गरिनुको कुनै अर्थ हुन्न । यसलाई सार्थक बनाउन आजैबाट राज्यले पहल थाल्नुपर्छ । त्यसका लागि ढिला नगरियोस् ।