धरान । कोशी प्रदेशका सुनसरी, उदयपुर र धनकुटाबाट १ सय ६९ केजी गाँजा बरामद गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट साढे ४१ केजी गाँजासहित दुईजनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय धरानको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.१३ च २६८ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा उक्त परिमाणमा गाँजा बरामद गरेको हो । कार चालक धरान–१६ का ४० वर्षीय सुकेन्द्र लिम्बू र कारमा सवार रहेका पाख्रीबास–९ धनकुटा घर भई धरान–१७ बस्दै आएका २८ वर्षीय नवीन राईलाई पक्राउ गरिएको छ ।
यस्तै धनकुटाको साँगुरीगढी गाउापालिका–८ बाट १ सय ६ केजी गाँजा बरामद भएको छ । इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले सडकमा रोकिराखेको को.१ ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा गाँजा बरामद गरेको थियो । पिकअपका चालक नभेटिएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यस्तै उदयपुरको कटारी नगरपालिका–१ कालखिोलाबाट मिर्चैया नगरपालिका–४ बाट सिराहाका २२ वर्षीय ललित सिंह पक्राउ गरेको छ । प्रदेश २–०१–००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई जाँच गर्दा २२ केजी गाँजा बरामद गरेको हो ।
यस्तै ब्राउनसुगरसहित झापाको मेची पुलबाट इलाम नगरपालिका–१२ का २४ वर्षीय सुजनवाला राईलाई पक्राउ गरिएको छ । नेपालतिर प्रवेश गर्दै गर्दा शङ्का लागी जाँच गर्दा ४४ ग्राम ब्राउनसुगर बरामद गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले मेचीनगर नगरपालिका–६ बाट ब्राउनसुगर बरामद गरेको हो । उनीविरुद्ध हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।