धरान । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाको पाठेघर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा लगी निःशुल्क सेवा विस्तार गर्ने उद्घोष गरे । उनको उद्घोषले अहिले यो समस्याबाट जुधिरहेका महिलाहरूमा खुसी त छाएको छ तर, कार्यान्वयन तहमा के हुने भन्ने अन्यौलता उस्तै छ ।
नेपालजस्तो विपन्न देशमा पाठेघरको क्यान्सर र स्तन क्यान्सरको समस्या विकराल रहेको सम्बन्धित क्षेत्रका चिकित्सकको भनाइ छ । किनकि सानै उमेरमा विवाह गर्ने, धेरै सन्तान जन्माउने, धेरैजनासँग असुरक्षित सम्पर्क गर्नेजस्ता आम समस्याका कारण पाठेघरको क्यान्सर हुने गरेको चिकित्सकहरू बताउँछन् । पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि सरकारले शीघ्र पहिचानको कार्यक्रम गर्दै आएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रसूति विभागका एसोसिएट प्रोफेसर डाक्टर रमेश श्रेष्ठका अनुसार प्रतिष्ठानमा वार्षिक ७० देखि ८० जनामा पाठेघरको क्यान्सरको पहिचान हुँदै आएको छ । पाठेघरको क्यान्सर पहिलो स्टेजमा थाहा पाउन सके पूर्णतः ठीक हुने उनको भनाइ छ ।
‘पहिलो स्टेजमै थाहा पाउन सक्दा पूर्णतया ठीक हुन्छ तर, धेरै बिरामीहरू समस्या भएपछि मात्रै आउँछन्’ –उनले फोनसम्पर्कमा भने । प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा गरेको उद्घोष कति कार्यान्वयन हुने भन्नेमा धेरै चिकित्सकहरू आशङ्का जाहेर गर्छन् । पाठेघर क्यान्सर रोकथामका लागि ९ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ह्युमेन पाकुलोमा भाइरस (एचपीभी) खोप दिने कार्यक्रमलाई पनि देशव्यापी विस्तार गर्ने प्रचण्डले उद्घोष गरे । चिकित्सक श्रेष्ठका अनुसार यो कार्यक्रमले पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ । ‘यो नर्मल्ली ९ देखि १३ वर्ष उमेर समूहका बालिकालाई दिइन्छ । पहिलोपटक दिएको ६ महिनापछि अर्को खोप दिइन्छ । खोप दुई पटक दिनुपर्छ’–उनले भने । पाठेघरको मुखको क्यान्सर ह्युमेन पाकुलोमा भाइरस (एचपीभी) का कारण हुन्छ । सोही भाइरसलाई आउन नदिनका लागि यो खोप प्रभावकारी मानिएको छ ।
महिलाको रोग प्रतिरोधात्मक क्षमताका आधारमा यो भाइरस फैलिने वा नफैलिने भन्ने भर पर्ने चिकित्सक श्रेष्ठ बताउँछन् । पाठेघरको मुखको क्यान्सर हुने अन्य कारणहरू पनि छन् । उनका अनुसार गुप्ताङ्ग सरसफाइमा ध्यान नदिने, चुरोट सेवन गर्ने महिला, लामो समयसम्म पिल्सजस्ता चक्की सेवन गर्ने, मधुमेहलगायतले पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ ।
सामान्यतः पाठेघरमा क्यान्सर भए नभएको उपचारका लागि स्क्रिनिङ नै पहिलो आधार हो । ‘पहिलो त सानैमा विवाह नगर्ने, सानैमा सन्तान नजन्माउने, धेरै सन्तान नजन्माउने, गुप्ताङ्गको सफाइ गर्ने, धेरैजनासँग यौनसम्पर्क नगर्नेजस्ता नै रोकथामको पहिलो उपाय हो’ उनले भने, ‘दोस्रो स्टेज भनेको स्क्रिनिङ वा डाइग्नोसिस नै हो । यसबाट सुरुमै पत्ता लागेमा थोरै खर्चमै उपचार सम्भव हुन्छ ।’ यदि क्यान्सर फैलिसकेको अवस्थामा शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापीभन्दा अर्को विकल्प हुँदैन । यसका लागि कम्तीमा पनि सरकारी अस्पतालहरूमा उपचार गर्दा ३ लाख रुपैयाँसम्म खर्च हुन्छ । उनका अनुसार त्यसमा पनि ठीक हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।
निजी अस्पतालहरूमा ५ देखि ७ लाख रुपैयाँसम्म खर्च हुन्छ । पछिल्लो समय स्क्रिनिङ तथा डाइग्नोसिस बढेका कारणले प्रत्येक वर्ष रोगीको सङ्ख्या पनि बढेको चिकित्सकको भनाइ छ । ‘रोग बढेको होइन, स्क्रिनिङ तथा डाइग्नोसिस बढेकाले रोगीको सङ्ख्या बढेको जस्तो लागेको हो’ चिकित्सक श्रेष्ठले भने, ‘स्क्रिनिङ बढेकाले रोगीको सङ्ख्या विगतको तुलनामा बढ्दै गएको छ ।’
प्रधानमन्त्रीले उद्घोष गरेजस्तै निःशुल्क भएमा नेपाली महिलाहरूले धेरै राहत महसुस गर्ने थिए । महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष शीला बज्राचार्यले प्रधानमन्त्रीले प्रतिबद्धता गरेको विषयमा महिलावादी सङ्घ–संस्थाहरूले झक्झकाइरहन आवश्यक रहेको बताइन् । ‘महिलाको लागि यो एकदमै राम्रो कुरा हो, पहुँच नभएको ठाउँ र ग्रामीण एरियामा यस्ता कार्यक्रमहरू गरिदिने हो भने राम्रो हुन्थ्यो’ उनले भनिन्, ‘कार्यान्वयन चाहिँ कसरी गर्छ त्यो हेर्न बाँकी नै छ ।’ सरकारले प्राथमिकता कत्तिको दिन्छ त्यो नै महत्वपूर्ण हुने उनले बताइन् । प्राथमिकता दिनसकेमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सार्थकतासँगै पीडित महिलाले राहत महसुस गर्न पाउने उनको भनाइ छ ।