धरान । मोरङको बेलबारीमा पतिले बिहीबार पत्नीको हत्या गरेका छन् ।
बेलबारी उपमहानगरपालिका–१ नक्सालबारीका ५७ वर्षीय हेमकर्ण महतले जेठी पत्नी देवी महतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर उदय राणाले जानकारी दिए । उनका अनुसार घटना बिहीबार दिउँसो १२ बजेतिरको हो । हत्यापश्चात् हेमकर्ण फरार छन् ।
देवीको टाउकोमा तीन स्थानमा र हातमा चोट लागेको प्रारम्भिक अनुसन्धानको क्रममा भेटिएको इन्स्पेक्टर राणाले जानकारी दिए । हत्या आरोपितका दुई पत्नी थिए । त्यसमध्ये देवी जेठी पत्नी हुन् भने कान्छी पत्नी विराटचोकमा छुट्टै बस्दै आएकी छन् । उनीहरूले बेलबारीमा मासु पसल गर्दै आएका थिए । हत्यामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
इन्स्पेक्टर राणाका अनुसार हेमकर्णले २० वर्षदेखि मानसिक रोगको औषधि सेवन गरिरहेको बुझिएको छ । ‘हामीले औषधि पनि बरामद गरेका छौँ’ उनले भने, ‘आफन्तको विहेमा एक पटक गएर फर्किएको र पुनः जान खोजेपछि जेठी पत्नीले रोक्न खोज्दा विवाद भएको देखिएको छ ।’ सोही विवादपछि नै हत्या गरेको देखिएको छ । प्रहरीले हत्यामा आरोपित महतको खोजी कार्य तीव्र पारेको छ ।