सुनसरी । १४ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न सुनसरीका विद्यार्थी सङ्गठनहरूलाई सकस भएको छ ।

लामो समयपछि हुन लागेको निर्वाचनको लागि आकाङ्क्षी धेरै हुँदा उम्मेदवार छनोट गर्न समस्या भएको विद्यार्थी सङ्गठनहरूले जनाएका छन् । त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र २४ गते निर्वाचन गर्ने गरी निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै ठूला विद्यार्थी सङ्गठन त्यसको तयारीमा लागेका छन् ।

विगतका हरेक स्ववियु निर्वाचनमा वर्चश्व कायम राख्दै आएको नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र नेपाली काङ्ग्रेस निकट नेविसङ्घ चुनावकेन्द्रित गतिविधिलाई तीव्रता दिएको छ भने नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारी र जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन यतिबेला उम्मेदवार छनोट गर्न छलफलमा जुटेका छन् । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिकाअनुसार फागुन १९ गते सुनसरीका विभिन्न छ वटा क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले नाम दर्ता गराइसकेका छन् भने पिण्डेश्वर विद्यापीठमा विवादका कारण सङ्गठनहरूले नाम दर्ता गराउन सकेका छैनन् ।

यस्ता छन् सम्भावित उम्मेदवार
नेविसङ्घ सुनसरीले लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनका लागि उम्मेदवार छनोट गर्न सजिलो नभएको जनाएको छ । हरेक क्याम्पसमा आकाङ्क्षीहरू धेरै भएकाले उम्मेदवार छनोट गर्न समस्या भएको नेविसङ्घ सुनसरी सभापति प्रमोद भट्टराई बताउँछन् । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि सुनसरी बहुमुखी क्याम्पस इनरुवामा नेविसङ्घको तर्फबाट अध्यक्ष पदमा नन्दन गुप्ता र जनता बहुमुखी क्याम्पस इटहरीमा सहदेव काफ्ले सर्वसम्मत हुने देखिएको छ भने अन्य क्याम्पसहरूमा अध्यक्ष पदका आकाङ्क्षी धेरै भएकाले बिहीबारसम्म टुङ्गो लगाउन नसकिएको नेविसङ्घ सुनसरीले जनाएको छ ।

सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टीमा नेविसङ्घको तर्फबाट अध्यक्ष पदका लागि उम्मेदवार बन्न विज्ञान श्रेष्ठ, शिशिर तामाङ, फुर्वा तामाङ र मार्शल योञ्जनले दाबी गरिरहेका छन् भने महेन्द्र बहुमुखी क्याम्पस धरानमा उम्मेदवार टुङ्गो लगाउन कसरत जारी रहेको सभापति भट्टराईले जानकारी दिए । यस्तै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा अध्यक्ष पदका लागि नवीन श्रेष्ठ र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा सिजल श्रेष्ठ, अविनन्द गुरागाईं र हुकुम बडाले दाबी प्रस्तुत गरेको नेविसङ्घले जानकारी दिएको छ । यस्तै पिण्डेश्वर विद्यापीठमा आगामी चैत ५ गते स्ववियु निर्वाचन भएको अवस्थामा नेविसङ्घको तर्फबाट प्रवेश पौडेलले अध्यक्ष पदमा उम्मेदवारी दिने सम्भावना रहेको छ ।

यता नेकपा (एमाले) निकट अनेरास्ववियु सुनसरी भने अन्य सङ्गठनको उम्मेदवारलाई हेरेर आफ्ना उम्मेदवार चयन गर्ने तयारी गरिरहेको जनाएको छ । अध्यक्ष नवराज खड्काका अनुसार अनेरास्ववियु सुनसरी अन्य सङ्गठनको उम्मेदवार हेरेर जित्ने उम्मेदवार उठाउने तयारीमा लागेको हो । अनेरास्ववियुले सुनसरी बहुमुखी क्याम्पस इनरुवा, महेन्द्र बहुमुखी क्याम्पस धरान र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा बिहीबारसम्म आफ्ना उम्मेदवार टुङ्गो नलागेको जनाएको छ ।

यस्तै सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टीमा अध्यक्ष पदमा अनेरास्ववियुको तर्फबाट सुरज भट्टराई, सचिवमा चित्रमान राई र कोषाध्यक्षमा सन्जु खड्काको नाम चर्चामा छ भने जनता बहुमुखी क्याम्पस इटहरीमा अध्यक्षमा उज्वल सिग्देल बलियो उम्मेदवारका रूपमा देखिएका छन् ।

यस्तै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा अनेरास्ववियुको तर्फबाट अध्यक्षमा अशेष रेग्मी र पिण्डेश्वर विद्यापीठमा सुधाकर पोखरेलको नाम चर्चामा छ । यता नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले पनि बिहीबारसम्म सबै स्थानमा उम्मेदवार टुङ्गो नलागेको जनाएको छ ।  सुनसरीका अध्यक्ष नवीन दाहालका अनुसार अखिल क्रान्तिकारीको तर्फबाट सुनसरी बहुमुखी क्याम्पस इनरुवाको अध्यक्षमा अरुण मेहता, जनता बहुमुखी क्याम्पस इटहरीमा अर्जुन पौडेल, नारायण थापाको नाम चर्चामा छ ।

यस्तै सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टीको अध्यक्ष पदमा विमल भुजेल र महेन्द्र बहुमुखी क्याम्पस धरानमा रविन श्रेष्ठ र भूपेन्द्र देवानले दाबी गरेका छन् । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा अखिल क्रान्तिकारीको तर्फबाट अध्यक्षमा समीर तिवारी, मन्दीप अधिकारी र आभास शर्माले दाबी गरेका छन् भने केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा आशिक थापा तथा पिण्डेश्वर विद्यापीठमा विनम भट्टराईले अध्यक्षमा दाबी गरेका छन् ।

यसैगरी जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले भने केही क्याम्पसमा आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाएका छन् । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि सुनसरी बहुमुखी क्याम्पस इनरुवा र महेन्द्र बहुमुखी क्याम्पस धरानमा आफ्ना उम्मेदवार टुङ्गो लागिसकेको समाजवादी विद्यार्थी युनियनका सह–सचिव ब्रह्मदेव यादवले जानकारी दिए । सुनसरी बहुमुखी क्याम्पस इनरुवाको अध्यक्ष पदमा देवकुमार यादव र महेन्द्र बहुमुखी क्याम्पस धरानको अध्यक्षमा युवराज राई र सचिवमा विनिता लिम्बूको नाम टुङ्गो लागेको उनले बताए ।

यस्तै सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टीको अध्यक्षमा समाजवादी विद्यार्थी युनियनको तर्फबाट निश्चल चाम्लिङ राई र सचिवमा अनिल काफ्लेको नाम चर्चामा छ भने जनता बहुमुखी क्याम्पस इटहरीमा अध्यक्षमा लक्ष्मण लिम्बूले दाबी गरेका छन् । यसैगरी पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा समाजवादी विद्यार्थी युनियनको तर्फबाट अध्यक्षमा निमेष यादवले दाबी गरेका छन् भने केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा उम्मेदवार टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ ।

यस्तै  पिण्डेश्वर विद्यापीठमा भने प्राविधिक कारण उम्मेदवारी नदिने मनसाय पुगेको सह–सचिव यादवले बताए । त्रिभुवन विश्वविद्यालयको निर्वाचन कार्यतालिकाअनुसार फागुन २५ गते उम्मेदवारको लागि मनोनयन–पत्र वितरण, २७ गते उम्मेदवारको नामावली प्रकाशन, २८ गते उम्मेदवारमाथि दाबी विरोध र सोही दिन दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन, २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चैत्र ५ गते मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ ।