विराटनगर। सर्वसाधारणले बचत गरेको १ सय ४५ करोड रुपैयाँ अपचलनको आशङ्का गर्दै विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीयअनुसन्धान ब्यूरो (सिआइबी)ले छानबिन सुरु गर्ने भएको छ ।

बचतकर्ताहरूको एक अर्बभन्दा बढी रकम जोखिममा पर्ने देखिएपछि सिआइबीले अनुसन्धान गर्ने भएको हो । सहकारी विभागद्वारा नेपाल प्रहरीको सिआइबीलाई छानबिनका लागि अनुमति

दिँदै पत्राचार गरेपछि अनियमितताबारे अनुसन्धान सुरु गरिने भएको हो । मोरङ प्रहरी प्रमुख इन्स्पेक्टर दीपक पोखरेलले दिएको जानकारीअनुसार तत्काल अनुसन्धान सुरु गर्न लागिएको छ । सिआइबीले हाल प्रहरी नियन्त्रणमा रहेकी सचिव सविना न्यौपाने र उपाध्यक्ष अनिता गौतमलाई पनि अनुसन्धानको दायरामा ल्याउनेछ । यस्तै सिआइबीले अध्यक्ष केदारनाथ शर्मा तथा अन्य सञ्चालक तथा व्यवस्थापकहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन लागेको उनले जानकारी दिए । ‘हामीलाई सहकारी विभागले र केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि अनुसन्धान गर्न पत्राचार भइसकेको

छ’ पोखरेलले भने, ‘एक–दुई दिनमै अनुसन्धान सुरु हुनेछ ।’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले सञ्चालक समितिका साथ व्यवस्थापकहरूको सम्पत्ति रोक्का राख्ने, बैङ्क खाता रोक्का गर्ने र अनुसन्धान सिआइबीले गर्ने विषयमा सहकारी विभागले पत्राचार गरेको जानकारी दिए । उक्त सहकारीका सञ्चालक समितिका सदस्यहरूले सर्वसाधारणले बचत गरेको १ सय ४५ करोड रुपैयाँ हिनामिना भएको हुनसक्ने आशङ्का गरिएको छ । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा छन् ।

सदस्यहरू छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टि अधिकारी सम्पर्कविहीन छन् । सदस्य आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दिप खवास र प्रबन्धक सुरुचि पोखरेल भने स्थानीय प्रशासनको सम्पर्कमै रहेका छन् । उपाध्यक्ष गौतमले जिल्ला प्रशासन कार्यालय मोरङ, सहकारी विभाग काठमाडौं र प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गर्दै समस्या समाधानका लागि आवश्यक सहयोगको माग गरेकी थिइन् । यसैबीच बचतकर्ताहरूको

अत्यधिक दबाव आएपछि उपाध्यक्ष गौतमले सबै सञ्चालक समितिका पदाधिकारीको तीनपुस्ते विवरण पनि जिल्ला प्रशासन कार्यालयमा बुझाएकी छन् । उनले अध्यक्ष केदारनाथ शर्मा, उपाध्यक्ष

अनिता गौतम, सचिव सविना न्यौपाने, सदस्यहरू छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टि अधिकारी, आदित्यराज भट्टराईको तीन पुस्ते विवरण बुझाएकी हुन् । विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौंको कारोबार गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था अहिले सङ्कटमा

छ । सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू बन्द छन् । तुलसी सहकारी विराटनगरको ठूलो

सहकारी हो । यस सहकारीका विराटनगरमा मात्रै ५ हजार बढी बचतकर्ता छन् । विराटनगरका

५ हजार जनाबाट मात्रै झण्डै ६६ करोड बचत जम्मा भएको सहकारीका कर्मचारीहरू बताउँछन् । झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा पनि शाखा कार्यालय रहेको सहकारीको जम्मा निक्षेप (बचत) रकममात्रै १ सय ४५ करोड बराबर रहेको बताइन्छ ।