विजयपुर । कोशी प्रदेशमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या दिनानु दिन बढ्दै गएको छ । लागूऔषध प्रयोगकर्ता दिनानु दिन वृद्धि हुनु चिन्ताको विषय भए पनि नियन्त्रणका लागि कुनै पक्षले ध्यान दिइएको पाइँदैन । फागुन २५ गते मात्रै कोशी प्रदेशका दुई जिल्ला झापा र सुनसरीबाट ५ जना लागूऔषध प्रयोगकर्ता पक्राउ परे ।
कमल गाउँपालिका–८ झापाका २७ वर्षीय अर्जुन सुब्बा र शिवसताक्षी–८ का २१ वर्षीय मुकेश चौधरी पक्राउ परेका हुन् । उनीहरूलाई सुनसरीमा पक्राउ गरेको प्रहरीले जनाएको छ । बिर्तामोड–४ का २० वर्षीय अभिषेक शर्मा र बिर्तामोड–८ की २० वर्षीया अनिशा मण्डल पक्राउ परे । उनीहरूलाई बिर्तामोड–२ का २० वर्षीय विश्वास सङ्ग्रौलाको कोठामा लागूऔषध खरिदबिक्री भइरहेको सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै फागुन २४ गते पनि पाँचजना लागूऔषध प्रयोगकर्ता पक्राउ परे ।
पक्राउ पर्नेमा २४ वर्षीय सुष्मिता लिम्बू, २१ वर्षीय सुजल तामाङ र मोरङ सुन्दरहरंैचा–१० का २३ वर्षीय प्रेम खड्का, मेचीनगर–१० झापा धुलाबारीका २४ वर्षीय खातिबुल महमद, झापा गाउँपालिका–१ का २२ वर्षीय (समिर) भनिने देवेन्द्र चौधरी पक्राउ परेका हुन् । कोशी प्रदेशमा दिनहुँजसो लागूऔषध प्रयोगकर्ता पक्राउ परिरहेका छन् ।
हाल सहरी क्षेत्रमा मात्रै नभई ग्रामीणक्षेत्रमा पनि लागूऔषध प्रयोगकर्ता छन् । ग्रामीणक्षेत्रको तुलनामा सहरी क्षेत्रमा अधिकतम् प्रयोगकर्ता रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पञ्चवर्षीय तथ्याङ्कलाई केलाउँदा प्रदेशमा दैनिक औषतमा २ जना लागूऔषध प्रयोगकर्ता पक्राउ पर्ने गरेका छन् । तथ्याङ्कले लागूऔषध प्रयोगकर्ता बढिरहेको देखाएको छ । के कारणले विकराल रूपमा लागूऔषध प्रयोगकर्ता बढिरहेका छन् त ? महेन्द्र बहुमखी क्याम्पस धरानका समाजशास्त्र विषयका उप–प्राध्यापक विज्ञान शर्मा लुइटेल नैतिक शिक्षाको अभावमा लागूऔषध प्रयोगकर्ता बढिरहेको बताउँछन् । उनी भन्छन्, ‘शिक्षामा विचलित व्यवहार नगर्न प्रोत्साहन गरेनौँ ।
नैतिक शिक्षा दिएनौँ । उच्च प्रतिशतका लागि मात्रै अध्ययन गरायौँ, व्यवहार रूपान्तरण गर्न असफल भयौँ । जसका कारण प्रयोगकर्ता बढिरहेका छन् ।’ उनी लागूऔषध प्रयोगकर्ता वृद्धि हुनुमा पुँजीवादको ्रभाव पनि भएको बताउँछन् । उनी भन्छन्, ‘लागूऔषध प्रयोगकर्ता वृद्धि हुनुमा विज्ञापन पनि जिम्मेवार देखिन्छ ।’ यस्तै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ऋषिराम कँडेल मुख्य गरेर पारिवारिक संरचना, साथीसङ्गत, सामाजिक सञ्जाल, यातायातको पहुँच, महŒवाकाङ्क्षाले गर्दा पनि वृद्धि भएको बताउँछन् ।
‘बच्चालाई एक्लै छाडेर अभिभावक काममा जान्छन्, बच्चाले के गर्दैछ भन्ने कुरा थाहा हुँदैन’ उनी भन्छन्, ‘चरम् महŒवाकाङ्क्षा हुन्छ । अपेक्षा पूरा नभएपछि डिप्रेसनमा जान्छन् ।’ प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आ.व. २०७५/०७६ मा प्रतिमहिना ४८ जना पक्राउ परेका छन् । उक्त आ.व.मा ५ सय ८१ वटा लागूऔषधका मुद्दा दर्ता भएका छन् भने ८ सय २४ पुरुष र २४ महिलासहित कुल ८ सय ४८ जना पक्राउ परेका छन् । आ.व. २०७६/०७७ मा प्रतिमहिना ५ सय ३० लागू औषधका मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
जसमा ७ सय ६१ पुरुष र ३५ महिलासहित ७ सय ९६ जना पक्राउ परेका छन् । आ.व. २०७७/०७८ मा ६ सय ८० वटा लागूऔषधका मुद्दा दर्ता भएका छन् । ती मुद्दाका ९ सय ७२ पुरुष र ७३ महिलासहित १ हजार ४५ जना पक्राउ परेका छन् । आ.व.२०७८÷०७९ मा ७ सय ८० लागूऔषधका मुद्दा दर्ता भएका छन् ।
ती मुद्दामा १ हजार ६६ पुरुष र ५२ महिलासहित कुल १ हजार १ सय १८ जना पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कले देखाएको छ । चालुआ.व. को माघ महिनासम्ममा ४ सय १८ लागूऔषधका मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ५ सय ७२ पुरुष र ३५ महिलासहित कुल ६ सय
७ जना पक्राउ परेका छन् । चालु आ.व.को सात महिनामा ४ सय १८ लागूऔषधका मुद्दा दर्ता भएका छन् भने झापा, मोरङ र सुनसरीमा ३ सय ३६ मुद्दा छन् । यसले सहरी इलाकामा धेरै प्रयोगकर्ता रहेको भन्ने कुरा देखाउँछ । तथ्याङ्कले यस प्रदेशमा लागूऔषध प्रयोगकर्ताको अवस्था विकराल रहेको देखाउँछ । लागूऔषधका कारणले हजारौँ युवाहरूको भविष्यसमेत बिग्रिरहेको छ । लागूऔषध नियन्त्रण कसरी गर्न सकिन्छ त ? उप–प्राध्यापक शर्मा एउटा मात्रै उपायले नियन्त्रण नहुने बताउँछन् ।
उनी भन्छन्, ‘नैतिक शिक्षालाई बढावा दिनुपर्छ । शिक्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्छ । सामाजिक नियन्त्रणका उपायहरूः धर्म, परम्परा, कानूनसहित राज्य संयन्त्र एकीकृतरूपमा लागिपरेमा केही वर्षमा प्रयोगकर्ता घट्न सक्छन् ।’ लागूऔषधको कारणले आक्रमणका घटना पनि भइरहेका छन् ।
केही समयअघि धरान–१६ स्थित एक क्याफेमा लागूऔषध प्रयोगकर्ताले धारिलो हतियार प्रहार गर्दा एक युवा गम्भीर घाइते भएका थिए । यस्तै होलीका दिन माछाभौडीमा लागूऔषध प्रयोकर्ताले धारिलो हतियार प्रहार गर्दा एक युवा घाइते भएका थिए । लागूऔषध प्रयोग नियन्त्रण गर्न बहुआयामिक पक्षले भूमिका निर्वाह गनुपर्ने देखिन्छ । कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी कँडेल लागूऔषध प्रयोग गम्भीररूपमा आएको बताउँदै भन्छन्,
‘नियन्त्रणका लागि घरपरिवार, विद्यालय, गैरसरकारी तथा सरकारी संस्था, अन्तर्राष्ट्रियस्तरबाट पहल हुनुपर्छ ।’ लागूऔषध प्रयोग नियन्त्रणका लागि घरपरिवार, समाज, स्थानीयदेखि सङ्घीय सरकार,सरकारी तथा गैरसरकारी निकाय लाग्नुपर्ने देखिन्छ । राज्यले नीतिगतरूपमा व्यवस्था गरेर लागूऔषध नियन्त्रणमा नलागे अवस्था जटिल बन्दै जाने देखिन्छ ।