सरकारसँग कुनै कुरामा चित्त नबुझे वा आफ्ना मागहरू पूरा नभएमा आमनागरिक आन्दोलित हुनु स्वभाविक हो । सरकारका कामकारबाहीको विरोधमा यस्ता आन्दोलन वर्षौंंदेखि हुने गरेका छन् । तर, आन्दोलनका नाममा सडक बन्द गरेर सर्वसाधारणलाई दुःख दिने, विद्यालय बन्द गरेर विद्यार्थीलाई पढ्नबाट रोक्ने, बजार बन्द गरेर दैनिक श्रम गरिखाने वर्गलाई काम गर्नबाट रोक्ने प्रचलन सही हो ? समीक्षा गर्नु आवश्यक छ । बन्द, हड्तालले प्रत्यक्ष रूपमा निम्नवर्गका नागरिकलाई असर गर्छ । राज्यबाटै बेवास्ता गरिएका वर्गलाई आन्दोलनकारी पनि दुःख दिनु कदापि उचित होइन । त्यसकारण आन्दोलनका नाममा हुने बन्द हड्ताल सधैँका लागि बन्द हुनुपर्छ । अर्थात् आन्दोलनको शैली बदल्नु आवश्यक छ । के आन्दोलन भनेको बन्द, हड्तालमात्र हो त ?

देश सङ्घीयतामा गएपछि सात प्रदेश बनाइयो । पाँचवर्षभित्रमा ६ वटा प्रदेशले नामकरण गरे पनि एउटा प्रदेशले पाँचवर्षमा पनि नामकरण गर्न सकेन । प्रदेशले नामसमेत राख्न नसकेको भन्दै आमनागरिकबीच प्रदेश सरकार नै हटाउनु पर्नेसमेत आवाज उठ्न थाल्यो । किनभने सङ्घीयताका तीन तहमध्ये स्थानीय तहमा आमनागरिकका धेरैजसो काम जोडिए तर, प्रदेश सरकारको देखिने काम भएन । अझ सङ्घीय सरकारमा भएको राजनीतिक फेरबदलको असर प्रदेशमा पर्ने, स्वतन्त्ररूपमा निर्णय गर्न नसक्ने जस्ता कारणले प्रदेशप्रति आमनागरिकको वितृष्णा बढिरहेकै छ । यही अवस्थामा ‘कोशी’ प्रदेश नामकरण भयो । विभिन्न राजनीतिक दल र जातीय समुदायले फरक–फरक नाम प्रस्ताव गरिरहेका बेला कुनैमा पनि एकमत हुन सकेको थिएन । त्यसपछि नयाँ प्रदेश सरकारले कोशी नामकरण गरेको थियो । प्रदेशको राजधानी घोषणा भएदेखि नै बन्द, हड्तालमा विभिन्न संस्था र समूहहरू उत्रिएका थिए । पछिल्लो समय नामकरणको विरोधमा पनि बन्द, हड्ताल भइरहेका छन् । गत शुक्रबार एउटा समूहले प्रदेश बन्द घोषणा ग¥यो भने आइतबार विभिन्न दल र समूहले संयुक्त रूपमा बन्द गरे । यो बन्दले सरकारमा बस्नेलाई र ठूला नेतालाई कति असर पा¥यो वा पारेन तर, गरि खाने वर्गलाई भने प्रत्यक्ष असर पा¥यो । जरुरी कामले कहीँ जानुपर्ने यात्रुलाई असर पा¥यो, परीक्षा आउन लागेका विद्यार्थीलाई असर पार्यो ।

विश्वमा आन्दोलनका विभिन्न रचनात्मक शैलीहरू पनि छन् । हाम्रोमा भने आन्दोलनका नाममा सडक, विद्यालय र बजार बन्द गरेर सर्वसाधारणलाई दुःख दिने पुरानै शैली अपनाइन्छ । निमुखा नागरिकलाई दुःख दिएर सरकारलाई दबाव दिनु र बालबालिका अपहरण गरेर अभिभावकसँग फिरौती माग्नु उस्ताउस्तै हुन् । सरकारसँग चित्त नबुझेको विषयमा विरोध जनाउनु, आन्दोलन गर्नु नागरिकको अधिकार हो तर, आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको हनन् गर्नु हुँदैन भन्ने सामान्य मान्छेले पनि बुझ्ने कुरा हो । विभिन्न राजनीतिक दल र सङ्घ–संस्थामा लागेका मान्छेले झनै बुझ्नु पर्ने कुरा हो । एक दिन बन्द गर्नु भनेको लाखौं बालबालिकाको एक एकदिन गरी लाखौं दिनको पढाइ बन्द गर्नु हो । लाखौं मजदुरको रोजीरोटी खोस्नु हो । आन्दोलनको यो शैलीले आन्दोलनकारीले आमनागरिकको साथ समर्थन पाउने होइन, उल्टै वितृष्णा फैलाउँछ । त्यसैले अब आन्दोलनको यो शैली फेर्नु आवश्यक छ । आन्दोलनका सिर्जनशील शैलीहरू खोजौं । बन्दलाई सधैँका लागि बन्द गरौं ।