धरान । मानव स्वास्थ्यसँगै वातावरणलाई गम्भीर क्षति पुर्याइरहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डम्पिङ गरिएको फोहोरमैला ‘मन्द विष’ बनिरहेको छ ।
प्रतिष्ठानले धरान–१७ को उदय सामुदायिक वनको कार्यालयभन्दा ५ सय मिटर दक्षिण–पूर्वतर्फ अस्पतालजन्य फोहोरलाई डम्प गर्दै आइरहेको छ । जसले गर्दा प्रत्यक्षरूपमा धरान–१७ का पाँच सय घरधुरी प्रभावित बनेका छन् । अप्रत्यक्ष रूपमा वनका बिरुवा, जीवजन्तु र माटोलाई असर पुर्याइरहेको छ । स्थानीयवासी तथा वडासदस्य लक्ष्मण राईका अनुसार प्रत्यक्ष रूपमा माथिल्लो उदय मार्ग, इन्द्रेणी मार्ग र समिति मार्गका ५ सय घरधुरी त्यसबाट प्रभावित छन् । त्यहाँका चौपाया पनि उस्तै गरी समस्यामा छन् । स्थानीय राजेन्द्र खड्का भन्छन्, ‘बीपीको फोहोरमैलाले गाउँ नै प्रदूषित छ । यहाँका गाईवस्तु, बाख्रापाठा र बाँदरहरू पनि मरिरहेका छन् ।’
शुक्रबार ब्लाष्टकर्मी पुग्दा उक्त क्षेत्रमा बाख्रापाठा, गाईवस्तु र बाँदरले त्यहाँ फालिएका फोहोरहरू खाइरहेका थिए । अर्कोतिर फोहोर जलिरहेको अवस्था पनि थियो । त्यहाँ अस्पतालबाट निस्कने सबै खालका फोहोर फालिएको थियो भने जलाइसकिएको अवस्थामा पाइएको थियो । ‘व्यवस्थित गर्नू भनेर हामीकहाँ जाने ?’ स्थानीय खड्काले भने, ‘नगरलाई पनि भनेको । वडाध्यक्षज्यूलाई भन्दा दुई हातले भैहाल्छ भनेर भन्नुहुन्छ । वडाध्यक्षज्यूलाई भन्दाभन्दा अघाइसकेका छौँ ।’ उनका अनुसार यहाँ जलाइएको फोहोरका कारण मानिसहरू बिरामी हुने र आँखा पाक्ने जस्ता समस्या नियमित भइरहेको छ ।
वडासदस्य राई स्थानीयको कुरा जायज नै भएको बताउँछन् । ‘गाईवस्तु, बाख्रा चरन गर्ने भएकाले तिनीहरूलाई पनि समस्या हुन थालेको छ । बीपीको इन्जिनियरिङ डिपार्टसँग कुरा पनि गरेका थियौँ’ –उनले भने । यो समस्या तत्काल सिर्जना भएको होइन । बीपी प्रतिष्ठान स्थापनापछि नै त्यस स्थानमा फोहोर डम्पिङ गर्न थालिएको हो । २०५० सालमा स्थापित बीपीले सरकारसँग एक सय हेक्टर क्षेत्रफलको भोगाधिकार लिएको छ । उक्त भोगाधिकारलाई गलत तरिकाले प्रयोग गर्दा वन क्षेत्रमा बिरुवादेखि जीवजन्तु पनि समस्यामा छन् । अस्पतालबाट निस्कने सबै खालका फोहोरलाई एकै स्थानमा डम्पिङ गर्दा अन्य समस्या पनि निम्तिरहेको छ । तर, बीपी प्रतिष्ठानका सह–प्रवक्ता डा. चूरामणि पोखरेल भन्छन्, ‘अस्पतालबाट निस्कने फोहोरलाई वर्गीकृत गरेर नै फाल्ने गरिएको छ । हस्पिटल वेस्ट र नन् हस्पिटल वेस्ट गरी फाल्छौँ । एकै ठाउँमा फाल्ने त नहुनुपर्ने हो ।’
गैर सङ्क्रमण फोहोरलाई खाल्डो खनेर पुर्ने गरेको दाबी बीपी प्रतिष्ठानको छ । तर, ब्लाष्टकर्मी पुग्दा खाल्डो खनिएको क्षेत्रमा आगो लागिरहेको थियो । त्यहाँको फोहोर जलाउने गरेका कारण वायु प्रदूषण सबैभन्दा ठूलो समस्याको रूपमा रहेको स्थानीय बताउँछन् । यतिसम्म कि त्यहाँ जलाइएको फोहोरको असर अस्पतालकै तल्लो क्षेत्रका होस्टेलहरूमा बस्नेहरूलाई पनि पर्ने गरेको छ । जसलाई बीपीले लामो समयदेखि सुनुवाइ गर्न सकेको छैन । ‘वन र स्थानीयलाई मात्रै हैन, बीपीको तल्लो क्षेत्रमा बस्नेहरूलाई पनि डिस्टर्ब गरिरहेको छ’ –वडासदस्य राई भन्छन् । यता धरान–१७ नम्बर वडा कार्यालयले २०७९ यता दुई पटक फोहोर व्यवस्थापन गरिदिन भन्दै पत्राचार गरेको थियो । पहिलो पटक २०७९ जेठ २४ गते र दोस्रो पटक २०७९ भदौ १९ गते पत्राचार गरेको कार्यालयको अभिलेखमा देखिन्छ ।
वडाध्यक्ष सूर्यकुमार भट्टराई भन्छन्, ‘त्यो उसैको क्षेत्र हो । हामीले त्यहाँ नफाल्नू भनेर भन्न सक्दैनौँ । व्यवस्थित गरिदिनुप¥यो भनेर हामीले भनेका छौँ । दुई पटक पत्राचार पनि गरेका छौँ ।’ टोल विकास संस्था (टीएलओ)ले पनि वडा कार्यालयलाई फोहोर व्यवस्थापन गरिदिन माग गर्दै निवेदन गरेपछि सोहीआधारमा बीपीलाई पत्राचार गरिसकेको वडाध्यक्ष भट्टराई बताउँछन् । अहिलेसम्म वन कार्यालयले पनि यस विषयमा गम्भीर ध्यान दिएको पाइँदैन । भोगाधिकार रहेको भन्दै कार्यालयले चासो नदिँदा अन्य वन क्षेत्रलाई पनि हानि पु¥याइरहेको छ । यस कुरालाई सेक्टर वन कार्यालय धरान तीनकुनेअन्तर्गत विष्णुपादुका सेक्टर वनका प्रमुख विक्रम अमात्य भन्छन्, ‘रुख बिरुवालाई समस्या ल्याउँछ, वन्यजन्तुसम्मलाई असर गर्छ । भोगाधिकार पाएकाले हामीले त्यस विषयमा चासो दिएका रहेनछौँ । व्यवस्थापन कसरी गरिरहनु भएको छ, त्यसलाई हामी निरीक्षण गर्छौं ।’
बीपी प्रतिष्ठानले चाहेमा यसलाई तत्कालै व्यवस्थापन गर्न सक्छ । तर, प्रतिष्ठानले चासो नदिएको स्थानीयको गुनासो छ । सह–प्रवक्ता पोखरेल भन्छन्, ‘चासो नदिएको विल्कुल होइन । वेस्ट मेनेजमेन्ट कमिटीले त्यसलाई हेर्छ । उहाँहरूसँग हामी छलफल गर्छौं ।’ अस्पतालजन्य फोहोर जथाभावी फाल्दा खतरा निम्त्याउने मात्रै नभई माटोलाई पनि दीर्घकालीन असर पु¥याउने विष्णुपादुका सेक्टर वनका प्रमुख अमात्यको भनाइ छ ।