धरान । धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलले ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार मनाएको छ ।

दिवसको अवसरमा विद्यार्थीहरूले नृत्य, गायन तथा सन्देशमूलक नाटक प्रस्तुत गरे । जुनियर विद्यार्थीहरूले ‘मोबाइलका कारणले विद्यार्थीको पढाइ अन्यौल’ बन्दै गएको सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए ।

त्यस्तै सिनियर विद्यार्थीहरूले ‘सत्य–तथ्य नबुझी कुनै कुरालाई हावामा फैलाउँदा हुने क्षति’ को विषयलाई उठान गरिएको सन्देशमूलक नाटक प्रस्तुत गरे । जसमा महिला हिंसा गरिएको विषय समेटिएको थियो । पछिल्लो समय कसरी सामान्य कुरालाई युट्युबरहरूले समाजमा घृणा फैलाउँछन् भन्ने सन्देश प्रवाह गर्न खोजेका थिए । कार्यक्रममा शिक्षक बमप्रकाश राईले गीत पनि प्रस्तुत गरे ।

यस्तै नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरे । त्यसक्रममा स्कुलका शिक्षकहरूले पनि नृत्य तथा गायन प्रस्तुत गरेको स्कुलका निर्देशक गणेश राईले जानकारी दिए ।

यसक्रममा वर्षभरिमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको प्रिन्सिपल सञ्जीता शाही राईले बताइन् । उनका अनुसार टेबलटेनिस सिनियर र जुनियर, वक्तृत्वकला, हाजिरीजवाफ आदि खेलमा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरूलाई ट्रफी र प्रमाण–पत्रले पुरस्कृत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेलगायतका अतिथिहरूले विद्यार्थीहरूलाई ट्रफी वितरण गरे ।