बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निष्कासित हुने फोहोरलाई उचित व्यवस्थापन नगर्दाको परिणाम जनताले भोग्दै आएका छन् । वातावरणमा पनि त्यसको असर पुगिरहेको छ भने वनजङ्गललाई पनि क्षति पुगेको छ । बीपी प्रतिष्ठानको अस्पतालजन्य फोहोरलाई जसरी व्यवस्थापन गर्नुपर्ने हो, त्यसरी व्यवस्थापन हुन नसकेको त्यहाँ पुग्दा प्रष्ट हुन्छ । यो हुनु एकदमै दुःखद् छ । २०५० सालमा स्थापित बीपी प्रतिष्ठानले हालसम्म त्यही क्षेत्रमा फोहोरलाई डम्प गर्दै आइरहेको छ । आजको अवस्थामा त्यहाँका फोहोरहरूले कति क्षति ग¥यो भनेर कुनै निकायले शोध नगरेको होला । तर, त्यसले वातावरणमा नराम्रो असर पु¥याइरहेको छ भन्ने प्रष्ट छ । डम्प गर्ने छेउछाउको जमिन मात्रै हैन, त्यहाँको वन जङ्गलमा पनि असर पुर्याएको देखिन्छ । अझै स्थानीयवासीलाई पनि प्रत्यक्ष रूपमा त्यसले असर पु¥याइरहेको छ । यसबारे हालसम्म आँकलन हुन सकेको छैन । प्रतिष्ठान जस्तो संस्थाले फोहोर फाल्ने डम्पिङ साइट व्यवस्थित बनाउन नसक्ने होइन तर, त्यसप्रति चासो दिएको देखिँदैन । खुल्ला रूपमा फालिएको फोहोरले मानवलाई मात्रै हैन, प्रकृतिलाई पनि उस्तै गरी क्षति पु¥याएको छ ।

बीपी प्रतिष्ठान प्रदेश १ को ठूलो अस्पतालको रूपमा आउँछ । यहाँबाट दैनिक सयौँ केजी फोहोर निष्कासित हुन्छ । सङ्क्रमण र गैर सङ्क्रमण फोहोरलाई जुन तरिकाले व्यवस्थापन गर्नुपर्ने हो, त्यो भएको देखिँदैन । अर्कोतिर फोहोरलाई जलाउने अर्को नराम्रो चलन हो । यो चलनका कारण कार्बन मोनोअक्साइड जस्ता विषालु ग्याँस निस्किरहेको छ जसले वातावरणलाई कुनै न कुनै रूपमा क्षति पु¥याइरहेको छ । बीपी प्रतिष्ठानले चाहेमा त्यसलाई उचित व्यवस्थापन गर्न नसक्ने भन्ने होइन । उसले फोरोलाई एउटा व्यवस्थित डम्पिङ साइट निर्माण गर्न सक्ने सामथ्र्य छ । तर, त्यतातिर बीपीले ध्यान दिएको पाइँदैन । अझ यहाँबाट उत्पादित जैविक फोहोरलाई मोहरमा परिणत गर्न सकिन्छ । त्यसो पनि गरेको पाइँदैन । अर्कोतिर सङ्क्रमणयुक्त फोहोरलाई उचित व्यवस्थापन गर्ने संयन्त्रको विकास अहिले पनि भएको पाइँदैन । त्यहाँ स्थानीयको गाईवस्तु तथा बाख्रा र जङ्गली जनावर बाँदरहरू चरनका लागि पुग्ने गरेका छन् । त्यहाँ चरन गर्ने गाईवस्तुहरूको पनि मृत्यु भइरहेको स्थानीयको भनाइ छ । यस्तो दुःखद् घटना भइरहँदा पनि चासो नदिने प्रवृत्ति राम्रो होइन । बीपीले भोगाधिकार पाएको जङ्गल क्षेत्रमा फोहोर फाल्दा त्यहाँका जीवजन्तु, सरिसृप, उभयचर, वनस्पति, बोटबिरुवालाई असर पुर्याएको छ छैन भनेर गम्भीर मन्थन गर्ने बेला भएको छ । यहाँ खुल्ला रूपमा फालिने फोहोरले प्राणीसँगै त्यहाँका बोटबिरुवालाई पनि असर पुर्याएको छ ।

डम्पिङ साइटको अभाव प्रदेश १ को मात्रै हैन, यो देशको समस्या हो । देशभरि नै डम्पिङ साइटको अभाव छ । तर, जहाँ व्यवस्थित गरेर गर्न सकिने ठाउँहरू हुँदा पनि व्यवस्थित गरिएको पाइँदैन । यसो हुनु चाहिँ गैरजिम्मेवारी र लापरबाहीको पराकाष्ठा हो । अस्पतालबाट निस्कने जैविक र अजैविक फोहोरका विषयमा अस्पताल गम्भीर हुन आवश्यक छ । अस्पतालजस्तो संवेदनशील संस्था वातावरणको क्षेत्रमा पनि उस्तै गरी संवेदनशील बन्न आवश्यक छ । यसले रोगहरू फैलाइरहेको छ भन्ने कुरालाई भुल्नु हुँदैन । स्थानीयवासीको भनाइलाई आधार मान्ने हो आँखा पाक्नेजस्ता समस्याहरू व्यापक भइरहेको छ । उता चौपायाहरूको मृत्यु हुनु पनि दुःखद् घटना हो । यसबारे प्रतिष्ठान प्रशासन गम्भीर भई तत्काल डम्पिङ साइटलाई व्यवस्थित गर्नेतिर ध्यान देओस् ।