धरान । झापा प्रहरीले विभिन्न स्थानबाट अवैधरूपमा भिœयाइएको सामग्री आइतबार बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले झापाको मेचीनगर नगरपालिका–७ बाट भन्सार छली गरी नेपाल ल्याउँदै गरेको १ सय ५० जोर स्लाइड च्यानल बरामद गरेको हो । स्लाइड च्यानल घर्रामा प्रयोग हुँदै आएको छ । यस्तै मेचीनगर नगरपालिका–६ बसपार्कबाट नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २५ केजी सुपाडी बरादम गरिएको छ ।

अस्थायी प्रहरी चौकी कुटीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका–१ स्थित एक सय २७ नम्बर पिलरबाट १ सय ५० केजी चिनी बरामद गरेको छ । भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा आइतबार चिनी बरामद गरिएको हो ।

यस्तै सोमबार बिहान प्रहरी चौकी सतिघट्टाको टोलीले मेचीनगर नगरपालिका–७ बाट भन्सार छली गरी ल्याएको सिल्की कपडा २२ रोल, ब्लाउज सिलाउने लुगा १ रोल र भाँडा धुने साबुन ५ कार्टुन बरामद गरेको छ ।

प्रहरीका अनुसार करिब २ लाख ४० हजार ५ सय रुपैयाँ बराबरको सामग्री बरामद गरिएको छ । उक्त सामग्री आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।