विराटनगर । विराटनगर–३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकविरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले ठगी मुद्दामा सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवाससहित तीनजना सञ्चालकलाई आइतबार पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
पक्राउ परेकी सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र प्रबन्धक खवासलाई मोरङ अदालतमा आइतबार ठगी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।
सहकारीका सञ्चालकहरूले २१ हजार ७ सय १३ जना सर्वसाधारणले जम्मा गरेको एक अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उनीहरूमध्ये आइतबारसम्म १ सय २१ जना पीडितले १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएको एसपी पोखरेलले बताए । ‘यो प्रारम्भिक ठगीमा जाहेरी दिनेको निवेदन हो । हामीले सूचना जारी गरेका छौं । ठगीमा पर्ने व्यक्ति र रकम पनि बढनेछ’ एसपी पोखरेलले भने, ‘अहिले आएको यो प्रारम्भिक चरणको रिपोर्ट हो । उजुरी पर्ने र ठगी रकम क्रम बढ्दो छ ।’ उनका अनुसार यो मोरङको मात्र हो । झापा, सिरहा र गाईघाटको विवरण आउनै बाँकी छ ।
‘बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत खाताहरूमा बचत भएको देखिन्छ’ एसपी पोखरेलले भने, ‘संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी ब्याज, बोनसलगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठूलो रकम बचत गरेको देखिएको छ ।’
सहकारीका ८ जना सञ्चालकविरुद्ध उजुरी परेको छ । त्यसमध्ये प्रबन्धक खवास, उपाध्यक्ष गौतम र सचिव न्यौपानेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । फरार सूचीमा अध्यक्ष शर्मा, सञ्चालक सदस्यहरूमा आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, अविजाल विश्वकर्मा र बन्टि अधिकारी रहेका छन् । उनीहरूको हकमा मोरङ प्रहरीले आइतबार पक्राउ अनुमति मोरङ अदालतसँग गरेको छ । अदालतले पनि पक्राउ अनुमति दिइसकेको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।
तुलसी सहकारीबाट ठगीमा परेका पीडितहरूको लागि मोरङ प्रहरीले जुनियर अफिसरको नेतृत्वमा छुट्टै निवेदन दिने काउन्टर राखेर जाहेरी लिन थालेको छ । एक अर्बभन्दा बढी रकम अपचलन भएकाले सिआइबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको रिटको टोलीको सहयोग लिएर मोरङ प्रहरीले अनुसन्धान सुरु गरेको छ । ठूलो सङ्ख्यामा सर्वसाधारणले बचत गरेको रकम अपचलन भएकोले मोरङ प्रहरीका डिएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा अनुसन्धान टोली गठन गरेर अनुसन्धान सुरु भएको छ ।
यो सहकारीमा सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप छ । मुख्य कार्यालय विराटनगर रहेको यो सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय छन् । बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएपछि आन्दोलन गर्दा एक महिनादेखि विराटनगर–३ स्थित सहकारीको मुख्य कार्यालयसहित झापा, उदयपुर र सिरहामा रहेका शाखा बन्द छन् ।
सहकारीले अवैध तरिकाले इन्टर कम्पनी नटराज एग्रोमा ६ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, झापाको गौरादहस्थित तुलसी राईस तथा चिउरा मिलमा ३५ करोड, तुलसी अनुसन्धान केन्द्रमा १० करोड लगानी गरेको भए पनि संस्थाको लेखा परीक्षण रिपोर्टमा ४० लाख मात्रै लगानी रहेको देखाइएको स्रोतको दाबी छ ।
शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष पनि शर्मा नै हुन् । उक्त ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । ग्रुपका उपाध्यक्ष शर्माकै छोरा काल्स शर्मा छन् । यो ग्रुपले तुलसी मोटर पम्प, तुलसी राइस एण्ड चिउरा प्लान्ट, तुलसी कृषि अनुसन्धान केन्द्र, गाईघाट खाबु, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, गाईघाट, दमक र लेटाङ, नटराज एग्रो प्रा.लि., गोरर्खा टि एण्ड कफी इ.प्रा.लि., तुलसी तथा उपकार ब्राण्डका विभिन्न खाद्य सामग्री उत्पादन र बिक्री गर्दछ ।
अडिट रिपोर्टमा यी उद्योगमा जम्मा लगानी ४० लाख मात्र भएको देखाइएको छ । अरू लगानी बैङ्कको ऋण भनिएको छ । तर, सबै सर्वसाधारणको बचत त्यहाँ लगानी भएको स्रोतको दाबी छ । सहकारीकै स्वामित्वमा भने पानी उद्योग र राइस तथा चिउरा मिल मात्रै हो । अरू उद्योग अध्यक्ष शर्माको एकल हो । अन्य उद्योगमा गैरकानूनी तरिकाले गरेको लगानी फिर्ता नआएपछि सहकारी आर्थिक सङ्कटमा परेको स्रोतको भनाइ छ ।
सचिव सविना न्यौपानेले सहकारीकै रकम आफ्ना भाइ सागर न्यौपानेलाई दिएर बिर्तामोडमा एसमार्ट खोलेको र त्यसपछि थप ८ लाख ऋण प्रवाह गरेको स्रोतको दाबी छ । एसमार्टले उक्त रकम अहिलेसम्म फिर्ता नगरेको स्रोतले बतायो ।
यो सहकारीको विराटनगर शाखाको २०७८ असारको लेखा परीक्षण विवरणमा त्यसबेला सहकारीमा बैङ्क तथा वित्तीय संस्थामा रहेको मौज्दात ३३ करोड २४ लाख ६७ हजार १ सय ४४ रुपैयाँ तथा नगद र सामान ३ करोड ७४ लाख १० हजार ८६ रुपैयाँ रहेको उल्लेख छ ।
संस्थाको कुल सम्पत्ति तथा दायित्व १ अर्ब ४६ करोड ५ लाख १९ हजार ५ सय ७० रुपैयाँ रहेको र नाफा मात्रै संस्थाको ७३ लाख १० हजार ९ सय ६९ रहेको देखाइएको छ । लगानी भने विभिन्न चारवटा संस्थामा ४० लाख ११ हजार रुपैयाँ मात्रै रहेको उल्लेख छ भने कर्जा तथा सापटी रकम ३१ करोड २३ लाख ६० हजार १ सय ८० रुपैयाँ रहेको उक्त लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । संस्थाको स्थिर सम्पत्ति भने ४ करोड १३ लाख ६३ हजार १ सय ५७ रुपैयाँ रहेको छ ।