भद्रपुर । झापाका तीनवटा क्याम्पसमा स्ववियु निर्वाचन अन्यौलमा परेको छ ।
विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेपछि चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन अन्यौलमा परेको हो । विद्यार्थीहरुले काँकडभिट्टा , गौरादह र गरामनी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका हुन् ।
काँकडभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । त्रिविको निर्वाचनसम्बन्धी आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ । तर, काँकडभिट्टा क्याम्पसले आचारसंहिताबिपरित जबर्जस्ती भर्ना कार्यक्रम गरेकाले विवाद उत्पन्न भएको विद्यार्थी सङ्गठनहरुले दावी गरेका छन् ।
आचारसंहिता लागु भएपछि क्याम्पसले विद्यार्थी भर्ना गरेकोमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिरोध गरेपछि क्याम्पस प्रशासनले अर्को सूचना प्रकाशन नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ । सर्वदलीय बैठक बोलाएर निर्वाचन गराउने सहमति भएपनि विद्यार्थी सङ्गठनहरुले ताला नखोल्दा निर्वाचनको वातावरण बन्न नसकेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाले बताए । समस्या हल गरी निर्वाचन गराउने सम्बन्धमा मङ्गलबार सर्वदलीय बैठक डाकिएको थियो ।
त्यस्तै गौरादह बहुमुखी क्याम्पसको प्रशासनकक्षमा तीन बिद्यार्थी सङ्गठनहरुले ताला लगाएका छन् । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर क्याम्पस प्रशासनले फर्जी विद्यार्थीहरु भर्ना गरेको भन्दै तीन विद्यार्थी सङ्गठनहरुले क्याम्पस प्रशासनमा शुक्रबार ताला लगाएका हुन् ।
नेपाल विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका हुन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिइसकेको र अन्य दुईवटा विद्यार्थी सङ्गठनले पनि तालाबन्दी खोलिदिएर पठनपाठन सुचारु गरिएको क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले बताए । उनले तालाबन्दीका कारण अहिलेसम्म निर्वाचनका कुनै पनि कार्यक्रम शुरु नगरिएको जानकारी दिए ।
त्यस्तै गरामनी क्याम्पसमा पनि नेपाल विद्यार्थी सङ्घ र राप्रविसङ्घले तालाबन्दी गरेका छन् । अनेरास्ववियुका विद्यार्थीहरु स्ववियुमा निर्विरोध निर्वाचित भएपछि त्यसप्रति असहमति जनाउँदै ती दुई सङ्गठनले तालाबन्दी गरेको क्याम्पस प्रमुख नवीन रायले बताए । ताला खुलाउने विषयमा पहल भइरहेको उनले जानकारी दिए ।
यता झापाका एसपी दुर्गाराज रेग्मीले गरामनी क्याम्पसको बुधबार विहान ताला खुलेको र अन्यको ताला खुलाउन पहल भइरहेको जानकारी दिए । निर्वाचनको विषयमा भने समय बाँकी रहेकोले केही भन्न नसकिने जनाए । झापामा १३ वटा बहुमुखी क्याम्पस रहेका छन् ।