विजयपुर । युएन कलेजले आफ्ना उत्कृष्ट  विद्यार्थीलाई सम्मान गरेको छ ।

बुधबार कलेजमा बिएचएम पहिलो सेमेष्टरमा उत्कृष्ट जिपिए ल्याई उत्तीर्ण हुने करुणा राईलाई सम्मान गरेको हो । उनलाई कलेजले नगद ३५ हजार रुपैयाँसहित सम्मान गरेको छ । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले नगदसहित सम्मान–पत्रले सम्मान गरे ।

कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोका अनुसार करुणा त्रिभुवन विश्वविद्यालयमा सेकेण्ड टपर भएकी हुन् । उनले ३.९२ जिपिए ल्याएकी छन्  । प्रिन्सिपल तुम्बापोले पहिलो पटक कोशी प्रदेशबाट त्रिविमा दोस्रो हुन सफल भएको बताए । उनले भने, ‘उपत्यकाभित्रका कलेजबाट मात्रै प्रथम, द्वितीय हुन्थे । अहिले हाम्रो कलेजबाट नेपालको द्वितीय हुन सफल भएकी छन् । यो ऐतिहासिक कुरा हो । कलेजको मात्रै होइन, प्रदेशको पनि गौरवको कुरा हो ।’

विश्वविद्यालयको परीक्षामा कलेजबाट दोस्रो, तेस्रो र चौथो हुनेलाई पनि सम्मान गरिएको छ । त्रिविले लिएको परीक्षामा कलेजमा दोस्रो, तेस्रो र चौथो क्रमशः रोहन लिम्बू, लिसु लिम्बू, सन्ध्या लिम्बूलाई पनि सम्मान गरेको हो ।

यस्तै कलेजको आन्तरिक परीक्षातर्फ सेकेन्ड सेमेस्टरमा पहिलो, दोस्रो र तेस्रो क्रमशः रोहन लिम्बू, लिसु लिम्बू र सन्ध्या तामाङलाई सम्मान गरेको हो । चौथो सेमेष्टरमा पहिलो, दोस्रो र तेस्रो हुने क्रमशः दिप्सन नेम्वाङ लिम्बू, प्रकाश राई र समृद्धि राईलाई सम्मान गरेको कलेजका बिएचएम को–अर्डिनेटर गगनमान श्रेष्ठले बताए । उनका अनुसार प्रथम सेमेष्टरका पहिलो, दोस्रो र तेस्रो क्रमशः स्मारिका श्रेष्ठ, रोजिना राई र सिमरन तामाङलाई पनि सम्मान गरेको छ ।