भद्रपुर । श्रीमान् झुण्डिएको थाहा पाए लगतै श्रीमतीले पनि आत्महत्याको प्रयास गरेकी छन् । घट्ना बिहीबार राति भद्रपुर नगरपालिका– ६ मा भएको हो ।  भद्रपुर बसपार्क नजिकै किराना व्यवसाय गर्दै आइरहेका ४८ वर्षीय सुरेन्द्र अग्रवालले आत्महत्या गर्नुको कारण भने खुलिनसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको घटना थाहा पाए लगतै उनकी श्रीमती ३२ वर्षीया ऋचादेवी अग्रवालले पनि आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जनाए । घरको छतमाथिको कोठामा सलले पासो लगाएर आत्महत्या गरेको सुरेन्द्रको शवलाई कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ । 

 ऋचादेवीले घरको एक तल माथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेको डिएसपी रिजालको भनाइ छ । उनको कम्मरसहित शरीरको विभिन्न स्थानमा गम्भीर चोट लागेको छ । उनको हाल भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । आत्महत्याको कारण श्रीमतीबाट थाहा हुनसक्ने प्रहरीको भनाइ छ । पारिवारिक या आर्थिक लेनदेन हुनसक्ने स्थानीयले समेत आङ्कलन  गरेका छन् ।