इनरूवा । सप्तरी प्रहरीले चेकजाँचको क्रममा पेस्तोलसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

तिलाठी कोइलाडी–१ खाँडो खोला क्षेत्रबाट छिन्नमस्ता–२ का सोनु रायलाई पेस्तोलसहित नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी नरेन्द्र कार्कीका अनुसार कुनौली नाकाबाट राजविराजतर्फ आउँदै गरेका रायको साथबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको हो ।

शङ्का लागेर खानतलासी गर्ने क्रममा रायको साथबाट पेस्तोल बरामद भएको एसपी कार्कीले बताए । कार्कीका अनुसार पक्राउ परेकाको बयानका आधारमा हतियार दिने सप्तरी राजविराजका रोहन यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरी प्रमुख कार्कीका अनुसार चेकजाँचकै क्रममा १ सय ८४ किलो गाँजासमेत बरामद गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सो परिमाणको गाँजा बरामद गरेको कार्कीले बताए ।

दुई वटा घोडामा लोड गरी ल्याइएको गाँजा सुरक्षाकर्मीको संयुक्त टोलीले गोबरगाढा क्षेत्रबाट बरामद गरेको उनले जानकारी दिए । सो क्रममा घोडा छाडेर कारोबारी भागे पनि केही समयपछि तस्कर समूहले गाँजा लुट्ने प्रयास गरेको एसपी कार्कीले बताए । ८–१० जनाको समूहले गाँजा लुट्ने प्रयास गरेपछि अवस्था नियन्त्रणमा लिन एक राउन्ड फायरसमेत गरिएको उनले बताए । एसपी कार्कीले फरार व्यक्तिको खोजी भैरहेको जनाए ।