केही दिनयता फेरि धरान उपमहानगरपालिकाका वडाध्यक्ष तथा नगर कार्यपालिकाका सदस्यहरू आन्दोलित बनेका छन् । वडाध्यक्ष तथा नगर कार्यपालिका सदस्य आन्दोलित बनेको यो दोस्रो पटक हो । नगरप्रमुख हर्कराज साम्पाङ राईले ‘कानून विपरीत’ गरेका निर्देशनका विरुद्धमा वडाध्यक्षहरू आन्दोलित भएका हुन् । अब कसरी कानूनविपरीत भयो त नगरपिताको निर्देशन ? पहिलो कुरा, उनका स्वकीय सचिवलाई नगरपालिकाको लेटरप्याड प्रयोग गरेर पत्राचार गर्ने अधिकार दिएको छैन । दोस्रो, नगर कार्यपालिकामा वडाध्यक्षले राखेका भनाइहरू संविधानतः छन् । संविधानले नै दिएको अधिकार प्रयोग गरेर वडाध्यक्षले आफ्ना तर्क राखेका हुन् । यसमा स्पष्टीकरण सोध्ने अधिकार नगरप्रमुखलाई छैन । यी दुई विषय नै वडाध्यक्षहरू आन्दोलित बन्नुको कारण हो । सर्वप्रथम त नगरप्रमुखले संविधान, ऐन र कानूनमा भएका व्यवस्थाबारेमा अध्ययन गर्न जरुरी छ । लोकतान्त्रिक मूल्यमान्यता भनेको प्रक्रिया पनि हो । प्रक्रियामा लोकतान्त्रिक मूल्यमान्यता अपनाइएन भने त्यो लोकतन्त्रको उपहास हो । लोकतन्त्रमा अभिमतको कदर गर्नुपर्छ । तर, अभिमतको अर्थ यो होइन कि ऐन, कानूनलाई चाहिँ पूरापूर छाडिदिनू । कानून भनेको अनुशासन हो । सदाचार हो । सामाजिक जवाफदेहिता हो । सामाजिक जवाफदेहिता भएन भने समाजको सद्भाव खलबलिन्छ । अशान्ति मच्चिन्छ । आफ्नो उत्तरदायित्व र जवाफदेहितालाई ध्यान नदिँदाको परिणाम नै आजको अवस्था हो ।
‘कानूनको अज्ञानतामा क्षम्य हुँदैन’ यो कानूनको मूलमर्म हो । यो मर्मअनुसार नै नगरप्रमुखले जुन खालका गल्तीहरू दोहो¥याइरहेका छन्, ती गल्तीहरूबारे मनन् गर्न जरुरी छ । आज उनी जे जति विकास निर्माणका काममा सक्रिय भएर लागेका छन्, त्यसको प्रक्रिया चाहिँ लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भएर भएका छन् कि छैनन् त ? यसप्रति उनी कति गम्भीर छन् ? नगर कार्यपालिकामा भएको बैठकमा उनले गरेका कार्यहरू र पत्राचारहरू कति लोकतान्त्रिक छन् त ? यस्ता विषयमा आफैले आफैलाई आत्मचिन्तन गर्ने प्रयासमा उनी देखिएका छैनन् । आज उनी धरानको १ लाख ७३ हजारभन्दा बढी नागरिकका नगरपिता हुन् । उनी निश्चित समूहको मात्रै नगरपिता होइनन् । उनले आज हरेक दिनजसो आफ्नो व्यक्तिगत सामाजिक सञ्जालबाट नगरका सूचना सूचित गरिरहेका हुन्छन्, त्यो कतिको कानूनी छ, त्यस विषयमा उनी कहिल्यै गम्भीर बनेको देखिएको छैन । त्यसकारण आफूले आफूलाई आत्मालोचना गर्न आवश्यक छ ।
अहिले वडाध्यक्षहरूले उठाइरहेको मुद्दाका विषयमा नगरपिताले राम्ररी ‘डिल’ गर्ने हो भने एकै क्षणमा समस्याको समाधान हुन्छ । नत्र यो समस्याले गर्दा धरानको विकास निर्माणदेखि लिएर अन्य कुरामा पनि प्रभाव पार्छ । त्यो धरानेका लागि हितको विषय होइन । यसकारण अहिलेको मुद्दालाई चाँडोभन्दा चाँडो टुङ्ग्याउन वडाध्यक्षहरू पनि सक्रिय हुन आवश्यक छ । त्योभन्दा बढी नगरपिता सक्रिय हुन आवश्यक छ । किनकि नगरपिता नगरका अभिभावक हुन् । वडाध्यक्षहरूका पनि अभिभावक हुन् । अभिभावकले नै गल्ती ग¥यो भने त्यसले गम्भीर समस्या निम्तिन्छ । समस्या बढाउने होइन । समाधान गर्नेतिर लाग्नुपर्छ । यसले धरानको विकासमा महŒवपूर्ण भूमिका खेल्छ । अहिले वडाध्यक्षहरू जुन माग लिएर अगाडि बढिरहेका छन् । यसमा प्रक्रिया र लोकतान्त्रिक मूल्यमान्यतासँग जोडिएका छन् । प्रक्रियालाई लोकतान्त्रिक बनाउने कि स्वेच्छाचारी त्यो नगरप्रमुखकै हातमा छ ।