धनकुटा । नेपाल शिक्षक सङ्घ धनकुटाको पाँचांै जिल्ला प्रतिनिधिसभा शिक्षकहरूको पेशागत तथा भौतिक सुरक्षालगायतका विषयमा निर्णय गर्दै  सोमबार सकिएको छ ।

नेपाली काङ्ग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको समग्र विकासका लागि शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्ने बताए ।

नेपाल शिक्षक सङ्घ धनकुटाका अध्यक्ष धीरेन्द्रबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, नेपाल शिक्षक सङ्घ कोशी प्रदेशका अर्थ महासचिव रामकुमारी भण्डारी, नेपाली काङ्ग्रेस धनकुटाका उपसभापति सुनिलकुमार डङ्गोल, जिल्ला सचिवहरू विजय सन्तोषी राई, जयन्द्र घिसिङलगायतले शिक्षकहरूको पेशागत तथा भौतिक सुरक्षा हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घ धनकुटाका पूर्व अध्यक्ष भूपदेव राईलाई लोकतान्त्रिक शिक्षक पुरस्कार प्रदान गरिएको थियो । पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, चौबिसे गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रुद्र चेम्जोङ, नेपाल शिक्षक सङ्घ महालक्ष्मीका पूर्वअध्यक्ष चकेन्द्र बस्नेत र पाख्रीबासका पूर्व अध्यक्ष सन्तोष खड्कालाई नेपाल शिक्षक सङ्घ धनकुटाले सम्मान गरेको थियो ।

जिल्ला प्रतिनिधिसभामा जिल्ला सचिव रोहिणी पाण्डेले प्रगति प्रतिवेदन र अर्थ सचिव भोला भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले शिक्षकहरूको पेशागत तथा भौतिक सुरक्षालगायत विभिन्न विषयहरूमा निर्णय गरेको अध्यक्ष धीरेन्द्रबहादुर लिम्बूले बताए ।