धरान । झापाको दमक नगरपालिका–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कुलका छात्रलाई पिट्ने शिक्षिकालाई निष्कासित गरिएको छ ।

सोमबार विद्यालयमा बसेको त्रिपक्षीय छलफलबाट ‘आइन्दा यस्ता गल्ती नदोहोर्याउने सर्त’ सहित शिक्षिका सोही ठाउँकी एलिना न्यौपानेलाई विद्यालयले निष्कासन गरेको जनाएको छ ।

कक्षा १ मा अध्ययनरत छात्र इभान बराललाई शिक्षिका न्यौपानेले चैत ३ गते कुटपिट गरेको विषय सामाजिक सञ्जालबाट बाहिरिएको थियो । पीडितका आफन्तले सामाजिक सञ्जालमा विद्यार्थी पिट्ने शिक्षिका र विद्यालयलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । त्यसपश्चात् विद्यालयलाई एक खालको दबाव सिर्जना भएको थियो ।

पीडित परिवारले कारबाहीको माग गरे पनि घटना प्रहरीसमक्ष भने पुगेको थिएन । पीडित पक्ष, पीडक पक्ष र विद्यालय प्रशासनबीच सोमबार घटनाको मिलापत्र गरिएको छ ।

सहमति पत्रमा विद्यालयले अबदेखि कुनै पनि विद्यार्थीमाथि यस्ता अमानवीय क्रियाकलाप नहुने, दक्ष शिक्षक, शिक्षिका नियुक्त गरिने, भावी दिनमा यस्ता कार्य दोहोरिए स्कुलमा तालाबन्दी गरिने, सामूहिक रूपमा पीडक भनिएकी शिक्षिकाले माफी माग्ने र शिक्षिकालाई बर्खास्त गरिने सहमति भएको छ । जहाँ पीडक भनिएकी शिक्षिका न्यौपानेले पनि हस्ताक्षर गरेकी छन् ।