देउराली । केही दिन यता सामाजिक सञ्जालमा हंक नामको इनर्जी ड्रिङ्कको क्यानलाई रोडबुलको लेबल स्टिकर छोपेर बिक्री भइरहेको भन्ने भिडियो भाइरल भइरहँदा धरानमा पनि त्यस्तै किसिमको ठगी भएको पाइएको छ ।

धरान उपमहानगरपालिका ३ गौधारमा किराना पसल सञ्चालन गरेका गंगा कोइरालाको किराना पसलमा चुरोट माग्न आएका ग्राहकलाई बिक्री गर्न भनेर स्टोरमा दश दिन अघि खरिद गरेको चुरोटको बन्डल खोलेपछि उनीमाथि ठगी भएको खुलेको छ ।

कोइरालाका अनुसार १० दिन अघि मोटरसाइकलमा आएका अपरिचित व्यक्तिबाट २१ सयमा खरिद गरिएको एक बन्डल शिखर चुरोटका प्याकेटहरूमा चुरोटका खिली नभएर कागजले भरिको पाइएको छ ।

" खुल्ला प्याकेटमा २ बटा मात्र थियो, ग्राहकले ५० रुपैयाँ को मागेपछि बन्डल खोलेको , प्याकेट भित्र त सबै कागजले भरिएको रहेछ । " कोइरालाले भनिन् " प्याकेजीङ पनि अरू बेला कै जस्तै छ । राजस्वको लेबल पनि टाँसिएको छ । बाहिर सबै नयाँ जस्तै छ । तर के थाहा यस्तो होला भन्ने । "

बन्डलको एउटा प्याकेटमा कागज भरिएको भेटिएपछि अन्य २ वटा प्याकेट पनि खोलेर हेर्दा अरूमा पनि कागजले भरिएको गंगाका श्रीमान् राम कार्कीले बताए ।

उनले भने " एउटा प्याकेटमा कागज देखिएपछि अरू २ बटा प्याकेट खोलेर खोलेर हेर्दा कागजले भरिएको देखिएपछि अरू प्रमाणका लागि खोलेको छैन । "बाहिरबाट गरिएको प्याकेजीङ हेर्दा सक्कली जस्तै देखिने भएकोले पनि जो कोही झुक्किने कार्कीले बताए । " बन्डलका बाहिर प्लास्टिकले र्‍याप गरिएको छ । राजश्व कार्यलयको स्टिकरहरू छन् । हेर्दा सक्कली र नक्कलीमा कुनै फरक छैन । यो पुराना चुरोटका बट्टाहरूलाई कागज हालेर रिप्याकिङ्ग गरिएको हुनुपर्छ । "

कार्कीले आफू झुक्किए पनि अरूलाई नझुक्किन सचेत गराउँदै ठगी गर्ने लाई खोजी गरी कानुनको दायरामा ल्याएर थप ठगी हुनबाट रोक्नु पर्ने बताए ।उनलेआफू ठगीको भन्दै प्रहरी र उद्योग वाणिज्य संघ, सुनसरीका प्रतिनिधिहरूलाइ समेत जानकारी गराएको बताए ।