विराटनगर । विराटनगर–१९ मिलन चौक टोल बस्ने २७ वर्षीया प्रियङ्का सोनारको हत्या आरोपमा पक्राउ परेका श्रीमान्सहित तीनजना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
मोरङ अदालतका न्यायाधीश धु्रवराज कार्कीको इजलासले पक्राउ परेका मृतकका श्रीमान् रमेशकुमार सोनारसहित तीनजनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । यस्तै हत्या आरोपमा पक्राउ परेका विराटनगर–१९ मिलन चौक टोल बस्ने वर्ष ३४ का रमेश साह भन्ने रमेशकुमार सोनार, कटहरी गाउँपालिका–५ पैनी टोल बस्ने वर्ष ६२ का रामानन्द राम हरिजन र सोही ठाउँका ३५ वर्षका उमेश सरदारलाई पनि पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
गत फागुन ७ गते दिउँसो २ बजे मोरङ बूढीगङ्गा गाउँपालिका वडा नं.२ अमाहीस्थित नरसिंह चौधरीको ग्वाली घरमा प्रियङ्काको हत्या गरेको अवस्थामा बोराभित्र शव फेला परेको थियो । शव भेटिएपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा चारजनालाई पक्राउ गरेको थियो ।
जसमध्ये पक्राउ परेका विराटनगर–७ हस्पिटल चौकमा बस्ने वर्ष ५३ का श्रीराम भन्ने सिलिराम चौधरीलाई जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ । प्रहरीको अनुसन्धानपश्चात् प्रतिवादीहरूमध्ये श्रीराम भन्ने सिलिराम चौधरीको घटनामा संलग्न नदेखिएपछि मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
श्रीमती हत्या गर्न २५ हजार ‘एड्भान्स’
प्रियङ्का सुनारको हत्या गर्ने योजना २९ वर्षीय श्रीमान् रमेश सोनार साहले १५ दिनअगाडि बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रियङ्काको हत्या गर्न रमेशले मुख्य सहयोगी कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रमानन्द रामलाई २५ हजार रुपैयाँ अग्रिम एड्भान्स दिएर हत्याको योजना बनाएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
२५ हजार रुपैयाँ लिएपछि हत्याको योजना रमेश र रमानन्दले बनाएको अभियोगमा उल्लेख छ । ‘श्रीमती प्रियङ्काको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै हत्या गर्ने योजना रमानन्दलाई रमेशले सुनाएका थिए । त्यही योजनाअनुसार रमानन्दले थप दुईजना सहयोगी लिएको अनुसन्धानबाट खुलेको छ’ अभियोगमा उल्लेख छ ।
हत्या गरेपछि शव व्यवस्थापनको लागि उनीहरूलाई चुनौती रहेको थियो । शव व्यवस्थापनको लागि अग्रिम रूपमा रमानन्दले रमेशबाट २५ हजार रुपैयाँ लिएको देखिएको छ । २५ हजार लिएपछि शव व्यवस्थापनको लागि रमानन्दले मारुती भेन धनी कटहरी–५ का ३५ वर्षीय उमेश सरदारलाई लिए । रमानन्दले मारुती भेन धनी उमेशलाई २ हजार रुपैयाँ इन्धन हाल्नको लागि दिएका थिए । उनीहरूले प्रियङ्काको हत्या गरेपछि शव व्यवस्थापन चतराको जङ्गल या सप्तकोसीमा फाल्ने योजना बनाएको अनुसन्धान अधिकृत बताउँछन् । ‘प्रियङ्काको हत्या गरेपछि बोरामा हालेको शव मारुती भेनमा हाल्न उमेशले इन्कार गर्दा एम्बुलेन्स खोज्न रमानन्द कोसी अस्पतालमा आइतबार राति ११ बजे पुगेका बेला प्रहरीले उनलाई पक्राउ गरेपछि हत्याको घटना बाहिर आएको हो’ घटनाको अनुसन्धान गर्दै आएका डिएसपी दाहालले भने ।
हत्या गर्ने मुख्य सहयोगी रमानन्द आपराधिक क्रियाकलापमा संलग्न भएका अभियुक्त भएको कारणले रमेशले उनलाई अपराध कर्मको लागि रोजेका हुन् । रमानन्द डाँका मुद्दामा ४ वर्ष कैद भुक्तान गरेर केही समयअगाडि छुटेका प्रतिवादी हुन् । उनी रमेशको विराटनगर–१९ मिलन चोकस्थित सुन पसलमा पनि आउजाउ गर्दै आएका थिए । मदिरा सेवनको लागि रमेशले रमानन्दलाई १–२ हजार पनि दिने गरेका थिए ।