नेपालको संविधानले स्वच्छ वातावरणको हकलाई मौलिक हकका रूपमा राखेको छ । संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने उल्लेख छ । त्यस्तै वातावरण प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने हकसमेत तोकिएको छ । मौलिक हकमा उल्लेख भए पनि नेपालका धेरै सहरी क्षेत्रका बासिन्दाले अस्वस्थ वातावरणमा बाँच्नु परिरहेको छ । सहरी क्षेत्रमा वायु प्रदूषण र ध्वनि प्रदूषणको चर्को मार भोग्नु परेको छ । अव्यवस्थित रूपमा सञ्चालित यातायातका साधनहरूका कारण पनि समस्या बढिरहेको छ । कोसी राजमार्ग क्षेत्रमा पर्ने धरान बजारमा यातायातका साधनको चर्को ध्वनिका कारण सर्वसाधारण पीडित बनेका छन् । चर्को ध्वनिले राम्रोसँग निदाउन नपाउने, मानसिक तनाव हुनेदेखि कानको समस्यासमेत देखिन थालेको छ ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूको भनाइअनुसार ध्वनि प्रदूषणले कानको समस्यादेखि मानसिक रोगसम्म हुनसक्छ । अध्ययनअनुसार चर्को ध्वनिका कारण मान्छेहरूमा कान नसुन्ने समस्या बढिरहेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कानको समस्या लिएर उपचारका लागि पुग्ने धेरैको चर्को ध्वनिका कारण समस्या देखिएको छ । यसबाट पनि ध्वनि प्रदूषण मानव स्वास्थ्यसँग जोडिने देखिन्छ । ध्वनि प्रदूषणका कारकहरू बस, ट्रकजस्ता यातायातका ठूला साधनहरू र स्वरूप परिवर्तन गरिएका मोटरसाइकलहरू रहेको ट्राफिक प्रहरीको अध्ययनले देखाउँछ । ध्वनि प्रदूषणको मार आम नागरिकसँगै धेरै समय सडकमा बस्नु पर्ने ट्राफिक प्रहरी र यातायात क्षेत्रका मजदुरहरूमा पनि परेको छ । बढिरहेको ध्वनि प्रदूषण बेलैमा नियन्त्रण गर्न नसक्ने हो भने आगामी दिनमा अझै धेरै समस्याहरू निम्तिने निश्चित छ ।
ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरी वा कुनै एउटा निकायले मात्र सम्भव देखिँंदैन । यसका लागि यातायात व्यवसायीदेखि आम नागरिकसम्म सचेत हुनु आवश्यक छ । नियमनकारी निकायहरूले पनि उत्तिकै ध्यान दिनु जरुरी छ । किनभने नेपालका सडकहरूमा चल्ने धेरैजसो यातायातका साधन वर्षौं पुराना, थोत्रा भइसकेका छन् । पुराना साधनहरूबाट ध्वनि र वायु प्रदूषण धेरै मात्रामा भए पनि उपयुक्त नियमन भएको पाइँंदैन । सडकमा सञ्चालन भइरहेका यातायातका साधनहरूको अवस्था र गुणस्तरबारे ध्यान दिनु आवश्यक छ । अर्कातिर मोटरसाइकलको स्वरूप बिगारेर ठूलो आवाज आउने बनाउने प्रचलन पनि उत्तिकै छ । सहरी क्षेत्रमा स्वरूप परिवर्तन गरेर ध्वनि प्रदूषण हुने गरी मोटरसाइकल चलाउनेहरूलाई ट्राफिक प्रहरीले नियमन गरी कानूनबमोजिम कारबाही गर्नुपर्छ । यसलाई राम्रोसँग नियन्त्रण गर्नसके धेरै हदसम्म ध्वनि प्रदूषण कम हुनसक्छ । ट्राफिक प्रहरीले मोटरसाइकल तथा अन्य यातायातका साधनलाई सडक कानून पालना गराउन भन्दै ठाउँ–ठाउँमा चेकजाँच गरेर जरिबाना तिराउने गरेको छ । तर, जरिबानाले मात्र न दुर्घटना कम भएको छ, न त ध्वनि प्रदूषण नै । त्यसैले जरिबाना रसिद काट्नमा ध्यान केन्द्रित गर्नुभन्दा सडक अनुशासन पालनाका लागि उत्प्रेरित गर्नु आवश्यक छ । सडकमा भइरहेको लापरबाही र ध्वनि प्रदूषण रोक्न चालक, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालयलगायत सम्पूर्ण सरोकारवाला निकायहरूले ध्यान पुर्याउनु आवश्यक छ ।