धरान । धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले चिकित्सा सेवा आयोगद्वारा प्रकाशित एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यालयमा कक्षा १२ सम्मको अध्ययन सम्पन्न एमबीबीएसको प्रवेश परीक्षा नतिजामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी तथा तिनका अभिभावकहरूलाई सम्मान गरिएको हो । विष्णु मेमोरियलबाट एमबीबीएस प्रवेश परीक्षामा अधीश खतिवडाले ११ औं स्थान र विक्रान्त गुरागाईंले २०२ औं स्थान हासिल गरी पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका छन् ।
उक्त कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बेनिन्द्र कट्वालले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू तथा अभिभावाकहरूलई अबिर, खादा, माला र प्रशंसा–पत्रसहित सम्मान गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक निलमकुमार श्रेष्ठले विगतमा समेत यस विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रवेश परीक्षामा उत्कृष्टता हासिल गर्ने गरेकाले यो उपलब्धिसमेत त्यसैको निरन्तरता रहेको बताए । यस किसिमको उपलब्धि विद्यार्थी, शैक्षिक संस्था र अभिभावकको त्रिकोणात्मक सहकार्य तथा प्रयासबाट मात्रै सम्भव रहेको उनले बताए ।