सुनसरी । सुनसरीको कोसी गाउँपालिका क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
कोसी गाउँपालिका वडानम्बर ८ भण्टाबारीस्थित चारकुने नाकामा भारतबाट पैदल आउँदै गरेको अवस्थामा स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित शुक्रबार बिहान एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कोसी गाउँपालिका वडानम्बर ६ स्थित श्रीपुर बस्ने अन्दाजी २२ वर्षका आनन्दकुमार यादव रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले स्रोत नखुलेको ११ लाख २३ हजार ५ सय रुपैयाँसहित यादवलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल सुनसरीका डिएसपी नवराज थापाले जानकारी दिए । चेकजाँचको क्रममा पक्राउ परेका उनको साथबाट सशस्त्र प्रहरीले खुट्टा र कम्मरमा टेपले बाँधी ल्याउँदै गरेको अवस्थामा सो परिमाणको रकम बरामद भएको उनले बताए । पक्राउ परेका यादवलाई स्रोत नखुलेको रकमसहित कारबाहीको लागि राजस्व कार्यालय इटहरीमा बुझाइएको छ । ्
कोसी गाउँपालिका वडानम्बर ८ भण्टाबारीमा गणेश ट्रेडर्स नाम गरेको पसल सञ्चालन गर्ने स्थानीय जयप्रकाश साह भन्ने व्यक्तिले गैरकानूनी तवरबाट हुण्डी कारोबार गर्दै आएको र पक्राउ परेका यादवलाई उनले स्टाफको रूपमा प्रयोग गरी हुण्डी कारोबारमा संलग्न गराउँदै आएको स्थानीयको दाबी छ । केही महिनाअगाडि पनि शुक्रबार पक्राउ परेका उनै यादवलाई हुण्डी गर्ने उद्देश्यले ल्याएको भारतीय रुपैयाँसहित पक्रन खोज्दा भागेका थिए ।
सोही विषयमा त्यतिबेला पसल सञ्चालक जयप्रकाश साहलाई जिल्ला प्रहरी कार्यालय लगिए पनि अनुसन्धान नगरी भोलिपल्ट छाडिएको थियो ।