धरान । मोरङ विराटनगर महानगरपालिका–१४ स्थित एस्पायर कलेजका स्नातक तहको प्रोफेसनल हस्पिटालिटीमा अध्ययरत विद्यार्थीहरूले पूर्वाञ्चल बाल सेवा आश्रमका बालबालिकालाई खाना खुवाएका छन् ।

बालबालिकासँग सुख–दुःख साटफेर गर्ने उद्देश्यका साथ विद्यार्थीहरूले आफ्नै हातले खाना बनाएर खुवाएका हुन् । अरविन्द नायक नेतृत्वको समूहले खाना तयार पारी खुवाएको हो । त्यसक्रममा विभिन्न मनोरञ्जनात्मक र खेलकुद कार्यक्रम पनि गरिएको लिजा खतिवडाले जानकारी दिइन् ।

आश्रमकी संरक्षक सीता पोखरेलले आश्रम मुठ्ठीदानबाट सुरु भएको र हाल दाताहरूकै सहयोगबाट सञ्चालनमा रहेको बताइन् । तीन दशकदेखि दाताहरूकै सहयोगमा सञ्चालनमा आइरहेको बताइन् । बिद्यार्थीहरू आफैले सङ्कलन गरेको रकमबाट आश्रित बालबालिकालाई भोजन गराइएको क्याम्पसका स्नातक तह प्रोफेसनल हस्पिटालिटीका संयोजक शुभम भट्टराईले जानकारी दिए ।