घर बस्ने थलो मात्रै हैन, संस्कृति र सभ्यताको मापक पनि हो । भलै हेर्दा घर जस्तो देखिए पनि त्यसभित्र थुप्रै अस्तित्वहरू रहन्छन् । धरानमा याक्थुङ (लिम्बू) जातिको घर अर्थात् हिम पनि त्यसैको उदाहरण हो । सभ्यताको प्रतीकको रूपमा रहेको यो घरले याक्थुङ जातिको संस्कार, संस्कृति र जीवनशैलीलाई चित्रित गरेको छ । २०६९ सालमा निर्मित यो घर आजकाल सहरमा देख्न पाइँदैन । सहरमा कङ्क्रिटका घरहरूको होडबाजी चल्छ । बहुतले घर निर्माण गर्ने होडका कारण परम्परागत घरहरू हराउँदै गइरहेका छन् । गाउँघर तथा पहाडमा पाइने फुसले छाएका घरहरूको अस्तित्व हराउँदै गएको छ । मानव विकासको एउटा सूचकको रूपमा यस्ता घरहरूलाई जीवन्त राख्नुपर्छ । मानव ज्ञान, सीप र क्षमताबाट ओतप्रोत भएको हुन्छ । यही ज्ञान र क्षमतालाई तुलनात्मक रूपमा अध्ययन गर्नका लागि पनि यस्ता घरहरूको अस्तित्व आवश्यक छ । हामी अहिले यस्ता घरहरूमा बस्नलायक सम्झिदैनौं । यस्ता घरमा बस्ने पाखे ठान्छौँ । तर, मानव सभ्यतासँग जोडिएका यस्ता घरहरू पनि परम्परागत वास्तुमा आधारित हुन्छन् ।

आर्किटेक्चरल इन्जिनियरहरूले अहिले वास्तुमा आधारित घर निर्माण गरिरहेका हुन्छन् । आखिर विज्ञानको यो उन्नत युगमा किन वास्तुलाई आधारित मान्ने त ? तर, पूर्वीय मान्यतामा अध्यात्म, परम्परागत र भौतिक सबैको संयोजन भएको हुन्छ । यही संयोजनकै कारण घर निर्माण गर्दा कस्तो निर्माण गर्ने भन्ने विषयमा अध्ययन गरिन्छ । विश्वकर्मा पुराणअनुसार नेपालमा घरहरू निर्माण हुँदै आएका छन् । यता आदिवासी जनजातिका घरहरू भने तान्त्रिक विद्यामा आधारित रहेर निर्माण भइरहेका छन् । त्यसैले घर बासस्थान मात्रै हैन, यसको आफ्नै महŒव हुन्छ । कङ्क्रिटकै घर निर्माण भए पनि त्यसलाई परम्परागत शैलीमा निर्माण गर्ने गरी सरकारहरूले योजना ल्याउन आवश्यक देखिएको छ । सरकारले परम्परागत शैलीमा घर निर्माण गर्नेलाई विशेष अनुदानको व्यवस्था वा पुरस्कृत गर्ने व्यवस्था गर्न सकेमा यस्ता कलाकौशलले जीवन्तता प्राप्त गर्ने थिए । यस्ता घरहरू निर्माण गर्ने हो भने त्यो सहरको एउटा गरिमा पनि स्थापित हुने थियो । सहरलाई हेर्नका लागि विदेशीहरू आउँथे । त्यो वातावरण अब स्थानीय सरकारहरूले गर्नुपर्छ । स्थानीय सरकारले यस्ता परम्परागत हिमहरूको प्रवर्धनमा लाग्नु आवश्यक छ ।

हामी अहिले फेरि पुरानै ढाँचा वा शैलीलाई मन पराउन थालेका छौँ । हाम्रा पहिचानहरू विस्तारै मेटिँदै गएका छन् । यी पहिचानलाई जीवन्त राख्ने काम सम्बन्धित जातिको पनि हो । ती जातिहरू पनि आफै सजग हुन आवश्यक छ । जातिहरूको भाषा, संस्कार, संस्कृति जोगियो भने मात्रै त्यो जातिको अस्तित्व जोगिन्छ । त्यो अस्तित्व जीवनशैली पनि हो । आज यस्ता परम्परागत हिमहरू देखिन छाडेका छन् । पहाडमा पनि कङ्क्रिटका घरहरू निर्माण गर्ने होडबाजी चल्न थालेको छ । कुनै दिन हामी यस्ता घरहरू सङ्ग्रहालयमा सीमित भएको पाउनेछौँ । जसको अस्तित्व लगभग मेटिनेछ । यसका लागि जाति आफै अग्रसर हुन आवश्यक छ । जाति तथा समुदायले स्थानीय सरकारहरूलाई झक्झक्याउन आवश्यक छ । अनि मात्रै हामीले सोचेको र परिकल्पना गरेअनुसार हाम्रा आदिम पुर्खाहरूको इतिहासलाई जीवन्त राख्न सक्नेछाँै । नत्र कुनै दिन हाम्रा पहिचानका यस्ता हिमहरू अन्ततः लोप भएर जानेछन् । त्यसबेला पछुताउनुबाहेक अर्को विकल्प हामीसँग रहने छैन ।