नेकपा (एमाले) सहित पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड, केपी ओलीको शैलीबाट त्रसित बनेपछि नेपाली काङ्ग्रेससहितका दलहरूसँग गठबन्धन गर्न पुगे र अहिले त्यो गठबन्धन १० दलमा परिणत भएको छ । गणितको हिसाबले यो सङ्ख्या सरकारको लागि उत्साहजनक हो । सरकार बलियो छ भन्ने देखिन्छ । तर, यथार्थमा त्यस्तो नहुन सक्छ । अहिले सरकार भय र त्रासमा टिकेको छ । सरकारको नेतृत्व प्रचण्डले गरेका हुनाले सरकारमा सम्मिलित भएका र सम्मिलित हुने सबैले यो सरकार भयको जगमा, त्रासको जगमा निर्मित भएको देख्दै छन् ।
प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् । त्यो कुर्सीको ऊर्जा, त्यो कुर्सीको राप, त्यो कुर्सीको ताप प्रचण्डमा देखिँदैन । उनको अनुहारमा तेज, उज्यालो पन केही देखिँदैन । देखिन्छ त मात्र भय, मात्र मलिन । प्रचण्डको त्यही अनुहारबाट भय पल्लवित भइरहेछ, जो कोहीले पनि त्यो देख्न सक्छ ।
अहिले देशको आर्थिक अवस्था जर्जर छ । उद्योगी व्यवसायीदेखि साना व्यवसायीहरू पनि सडकमा आन्दोलित छन् र त्यो आन्दोलनको तारो प्रचण्ड बन्दै गइरहेका छन् । उनको उपस्थितिमै भएको समारोहमा उनको विरुद्ध नाराबाजीदेखि लिएर अन्य गतिविधि पनि भइरहेका छन् । यौटा भयको कारण यो पनि हो । अझ ठूलो भय त उनका विरुद्धमा द्वन्द्वकालमा पीडित पक्षबाटै कारबाहीको लागि अदालतमा दायर गरिएको मुद्दा पनि हो । यही भय र त्रासको वरिपरि रहेर पूर्व माओवादीमा संलग्न नेताहरू एकै ठाउँमा उपस्थित भएर अदालतमाथि चुनौती दिनसम्म पुगे र अर्को भयको कारण यो पनि हुनसक्छ, रुसका पुटिनलाई अन्तर्राष्ट्रीय अदालतले जारी गरेको पक्राउ पुर्जी । जे होस्, विश्वासको मत पाएर बलियो देखिए पनि वास्तवमा त्यस्तो भोलि नहुन सक्छ । जब मन्त्रीमण्डलमा नसमेटिएका दलहरूले पुनः विश्वासको मत फिर्ता लिन सक्छन् ।
अहिले राजनीति यसरी नै विकसित भइरहेको छ । अहिलेको राजनीतिमा ठूला दल भनिएकाहरूले साना दलहरूलाई यही सिकाइरहेका छन् । यही राजनीतिक संस्कार दिइरहेका छन् । चाहे त्यो काङ्ग्रेस् होस् या नेकपा (एमाले) होस् । अझ यसमा माओवादी अघि छ । माओवादीले राजनीतिको यही शिक्षा दिइरहेको छ । यही संस्कार दिएको छ । माओवादीको यही शिक्षा र संस्कार अब उनैतिर भारी पर्ने देखिन्छ ।
भारी यसकारणले हो कि अहिले संसद्मा कुनै पनि राजनीतिक दलको बहुमत पुग्दैन । संसद्को अहिलेको संरचना नै यस्तो छ कि यो संसद्बाट निर्मित हुने सरकार दिगो र भरपर्दो देखिँदैन । यिनै कारणहरूबाट यो सरकार सधैँ भय, त्रास, मलिन र ऊर्जाविहीन भएर प्रस्तुत भएको देखिन्छ ।
प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रीमण्डल विस्तार गर्ने उद्घोष गर्नु पनि यही भय हो । आफू सुरक्षित रहने रणनीति र विश्वासको मत दिने दलहरू पनि यति लामो समयसम्म धैर्य गरेर सरकारमा जाने लिप्सामा देखिनुले नै पनि स्वस्थ राजनीति देखिँदैन । कुनै पनि दलबाट नेतृत्व गरेका सरकार प्रमुखले यति लामो समयसम्म मन्त्रीमण्डल विस्तार नगरेर मुलुकलाई अँध्यारोमा राख्न मिल्दैन । अझ वर्तमान प्रधानमन्त्रीले त १६ वटा मन्त्रालय आफू मातहतमा राखेर गणतान्त्रिक लोकतन्त्र र सुशासनको विरुद्धमा गएका हुन् कि भन्ने देखिन्छ । यी सबै भय र त्रासको अवस्थाले सिर्जित घटना हुन् ।
अहिले सरकारमा जाने दलहरूले पनि आफ्नो घोषणा–पत्र र मतदातासमक्ष गरेका वाचा, प्रतिज्ञाहरू पनि पूरा गर्न सक्ने छैनन् । अहिले सरकारमा जाने दलहरूले आफ्नो दलको भविष्यमा समेत प्रतिकूल प्रभाव पार्ने मात्र छैनन् कि यी दलको नेतृत्व गरेर जाने नेतृत्वकर्तासमेतको राजनीतिक भविष्यमाथि नै प्रश्नचिन्ह लाग्न सक्छ ।
अहिले देशको वर्तमान राजनीतिक अवस्थामा आर्थिक अवस्थामा सुधार ल्याउन सकेन भने जनताले चाहेको इच्छा, अवस्था र माग सम्बोधन हुन सकेन भने वर्तमान सरकार र त्यसमा सम्मिलित दलहरूमा यस्तो दाग लाग्नेछ कि त्यो कसैले छुटाउन सक्दैन । अहिले यस्तै दाग लागेकाहरू, अहिले रङ उडेका दलहरू, अहिले खुइलिएका दलहरूलाई हिजोसम्म धुनेहरूले दुरुस्त बनाउने गर्दथे । खुइलिएकोलाई चमक दिन्थे र दाग लागेकालाई दागहीन बनाउँथे । अब उनीहरूले त्यस्तो गर्ने छैनन्् । अब त्यो अवस्था छैन । त्यसैले यो सरकार भयमा टिकेको छ ।