देउराली ।  खाद्य प्रविधि तथा न्युट्रीसन एण्ड डाइटेटिक्स केन्द्रीय प्रविधि क्याम्पस( हात्तिसार क्याम्पस)ले बुधबार स्वर्ण जयन्ती समारोह गरी विविध कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । 

वि.सं. २०३० सालमा व्यावहारिक विज्ञान तथा प्रविधि अध्यन संस्थान नामले स्थापित  क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गर्दै स्थापनाकाे  ५० औं वर्ष मनाउने जानकारी गराएको हाे । 

 विज्ञान तथा प्रविधि शिक्षा क्षेत्रमा त्रिभूवन विश्वविद्यालयको एकमात्र स्वायत्तता प्राप्त आंगिक क्याम्पसका रूपमा रहेकाे केन्द्रीय प्रविधि क्याम्पसकाे स्वर्ण जयन्तीका अवसरमा बुधबार बिहान ७  क्याम्पसबाट पुरानो बजार, छाताचौक, कोशी राजमार्ग हुँदै पुनः क्याम्पस फर्कने गरी प्रभातफेरी  कार्यक्रम आयोजना गरेकाे  प्रचार समितिका संयोजक तथा अध्यापक धिरेन लिम्बूले बताए । 

उनका अनुसार प्रभातफेरीपछि  त्रिविका रजिष्टार प्रा डा पेशल दाहालले  घण्टाघरको अनावरण र पुरुष छात्रावासको समुद्घाटन गर्ने छन् । भने , स्वर्ण जयन्तीको उपलक्ष्यमा आयोजित खेलकुद प्रतियोगिताका सहभागीलाई पुरस्कार वितरण गरिने र  सेवा निवृत्त शिक्षक कर्मचारीलाई सम्मान गरिने भएकाे छ । 

क्याम्पसले हाल त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका खाद्य प्रविधि, सक्ष्म जीव विज्ञान, पोषण तथा आहार विज्ञान, भौतिक शास्त्र, प्राणी शास्त्र, वनस्पति शास्त्र, तथ्यांक शास्त्र, रसायन शास्त्र र भूगर्भ शास्त्र, सूचना प्रविधि, कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि जस्ता विषयमा स्नातक तथा सुक्ष्म जीव विज्ञानमा भने स्नातकोत्तर तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालित छ ।