भद्रपुर । झापाको हल्दिबारी गाउँपालिका–४ मा आइतबार सम्पन्न आँखा उपचार शिविरमा म्याद गुज्रिएको औषधि वितरण गरेको विषयमा छानबिन गर्न गाउँपालिकाले समिति गठन गरेको छ ।
सोमबार बिहान बसेको गाउँ कार्यपालिकाको बैठकले स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा प्रशासन शाखा प्रमुख राजन न्यौपाने र लेखा प्रमुख दीपक भट्टराई रहेका छन् । समितिले म्याद गुज्रिएको औषधि वितरण गरेको गुनासो आएको विषयमा छानबिन गरी तीन दिनभित्र गाउँपालिकालाई प्रतिवेदन बुझाउने संयोजक निरौलाले बताए ।
शिविरमा वितरण गरिएको स्टेरिल नामक आँखाको औषधि अप्रिल २०२२ र नोभेम्बर २०२१ मा नै म्याद समाप्त भएको भेटिएको थियो । ठूलो सङ्ख्यामा आँखा उपचार गराउन स्थानीयहरू शिविरमा आएकाले उक्त म्याद गुज्रिएको औषधि कति वितरण भयो भन्ने कुरा यकिन गर्न नसकिएको हल्दिबारी–४ का अध्यक्ष सन्तकुमार थापाले बताए । हल्दिबारी गाउँपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरमा काँकडभिट्टास्थित मेची नेत्रालय आँखा अस्पताल, हेल्पिङ हेन्डस एजुकेशनले प्राविधिक सहयोग गरेका थिए ।
शिविरमा ५ सय १ जनाले आँखा जाँच गरेका थिए भने ३ सय ७८ जनालाई चश्मा वितरण गरिएको र २६ जनाको मोतीबिन्दुको उपचार गर्नुपर्नेमध्ये १० जना उपचारपछि सोमबार बिहान घर फर्किएको वडाध्यक्ष थापाले बताए ।