विराटनगर । प्रहरीले ठूलो परिमाणमा गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । इलका प्रहरी कर्यालय रंगेलीले २ सय ३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो ।
रंगेली नगरपालिका २ चेका खोला स्थित गहुँबारीमा पैदल यात्री भारत, अररियाको ठिङ्गापुर पञ्चायत ६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा र सोही ठाउँका ३० वर्षीया सिन्टुक कुमार सिँहले ल्याउदै गरेको गाँजा ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काको नेतृत्वको टोलीले बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपछि थप तीनलाई पनि पक्राउ गरेकोे छ । प्रारम्भिक अनुसन्धानको क्रममा रंगेली नगरपालिका –३ रन्जनी बस्ने बिर बहादुर कार्कीको घरमा गाँजा लुकाई छिपाई राखेको खुल्न आएपछि निजको घर खानतलासी गर्ने क्रममा थप ८४ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजा ओसरपसारमा संलग्न अन्दाजी बर्ष ४६ वर्षीया बिर बहादुर कार्की, भारत कुटहरा बस्ने २४ वर्षीया प्रबिण पासवान र सोही ठाउँका २४ वर्षीया बिष्णु कान्त मिश्रलाई समेत पक्राउ गरेको डिएसपी दिहालले बताए ।
पक्राउ परेका पाँचै जनालाई मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।
पहाडी जिल्लामा उत्पादन हुने गाँजा लुकाइछिपाइ ल्याएर नाका कटाएर भारत पु¥याउने धन्दामा गिरोह सक्रिय रहेका छन् । श्रृंखलाबद्ध रूपमा सुनसरी र मोरङको भारतसँग सीमा जोडिएको नाकाबाट तस्करी हुन लागेको गाँजा प्रहरीले बरामद गर्दै आएको छ ।
धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लामा उत्पादन हुने गाँजा पछिल्लो समय गाडीमा लोड गरेर गाँजा तस्करी गराउने गिरोह सक्रिय छन् । खुल्ला सीमाका कारण लागूऔषध र गाजा कारोबारले मोरङ र सुनसरी प्रहरीलाई सुरक्षा चुनौती थपिँदै गएको छ । भारतसंगको खुल्ला सीमाको फाईदा उठाएर लागूऔषध र गाजाको कारोबार बढ्दै गएकोले यस्ता कारोबार रोक्न प्रहरीलाई चुनौति थपिएको हो ।